आइतवार, भदौ २८, २०८३

खाना पकाउने ग्यास माग्दै नेकपा बहुमतको प्रदर्शन

काठमाडौं । लामो समयदेखि जारी खाना पकाउने ग्यासको अभाव र बढ्दो महँगीविरुद्ध नेकपा (बहुमत) सडकमा उत्रिएको छ।

अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाउन नसकेको भन्दै पार्टीले शनिबार काठमाडौंमा सरकारविरुद्ध प्रदर्शन गर्दै तत्काल ग्यास वितरण सहज बनाउन माग गरेको हो।

माइतीघरदेखि बबरमहलसम्म गरिएको प्रदर्शनमा सहभागीहरूले खाली थाल बजाउँदै तथा थालमा काँचो चामल राखेर सरकारको ध्यानाकर्षण गराएका थिए। प्रदर्शनकारीले ग्यास अभावका कारण सर्वसाधारणले भोगिरहेको समस्या र महँगीप्रति सरकार गम्भीर नभएको आरोप लगाएका थिए।

प्रदर्शनमा ‘दुई तिहाइको सरकार, चार तिहाइको सङ्कट’, ‘भोको पेटले के भन्छ, भरी ग्यास दे भन्छ’ र ‘महँगीको मार, ग्यासको हाहाकार, कहाँ छ सरकार रु’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरिएको थियो।

पार्टीले ग्यासजस्तो अत्यावश्यक उपभोग्य वस्तुको नियमित आपूर्ति सुनिश्चित गर्न नसक्नु सरकारको व्यवस्थापकीय असफलता भएको आरोप लगाएको छ। लामो समयदेखि उपभोक्ताले ग्यासका लागि लाइन बस्नुपर्ने, सहज रूपमा सिलिन्डर नपाउने र बजारमा महँगो मूल्य तिर्नुपर्ने अवस्था कायम रहे पनि सरकारले प्रभावकारी कदम नचालेको प्रदर्शनकारीको भनाइ थियो।

विरोध कार्यक्रममा नेकपा (बहुमत) का प्रचारप्रसार प्रमुख गुणराज लुइँटेलले ग्यास वितरणमा कृत्रिम अभाव सिर्जना गरेर उपभोक्तामाथि आर्थिक भार थपिएको आरोप लगाए।

उनका अनुसार केही डिलरले दिउँसो ग्यास अभाव देखाउने र रातिको समयमा महँगो मूल्यमा बिक्री गर्ने गरेका छन्। यस्तो कार्यलाई उनले कालोबजारीको संज्ञा दिँदै यसको नियन्त्रणका लागि तत्काल छानबिन र कारबाही गर्न सरकारसँग माग गरे।

लुइँटेलले ग्यासको कथित कालोबजारीमा डिलरलाई प्रशासनिक संरक्षण प्राप्त भइरहेको समेत आरोप लगाए। प्रमुख जिल्ला अधिकारी, प्रशासनिक निकाय तथा मन्त्रीहरूको संरक्षण र कमिसनको खेलका कारण समस्या बढेको उनको दाबी थियो।

उनले सरकारले ग्यास वितरण सहज बनाउन तत्काल कदम नचाले आन्दोलन थप कडा बनाउने चेतावनीसमेत दिए।

लुइँटेलले एक–दुई दिनभित्र काठमाडौं उपत्यकासहित प्रभावित क्षेत्रमा ग्यास वितरण सहज नभए कालोबजारीमा संलग्न डिलरहरूको सूची सार्वजनिक गर्ने चेतावनी दिए।

उनले भने, ‘एक–दुई दिनभित्र सहज रूपमा ग्यास वितरण नभए कालोबजारी गर्ने डिलरहरूको सूची सार्वजनिक गरिनेछ।’

उनले त्यसपछि पनि सरकारले समस्या समाधान नगरे जनता आफैँ डिलरमा पुगेर ग्यास नियन्त्रणमा लिई निःशुल्क वितरण गर्न बाध्य हुने चेतावनी दिए।

नेकपा (बहुमत) ले ग्यास अभावलाई केवल आपूर्ति प्रणालीको समस्या नभई सर्वसाधारणको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको विषयका रूपमा उठाएको छ। खाना पकाउने ग्यासको नियमित आपूर्ति नहुँदा घरायसी उपभोक्तादेखि होटल तथा अन्य व्यवसायसमेत प्रभावित भइरहेको अवस्थामा सरकारले आपूर्ति प्रणालीको वास्तविक समस्या पहिचान गरी समाधान गर्नुपर्ने पार्टीको माग छ।

प्रदर्शनमार्फत पार्टीले ग्यासको मूल्य र आपूर्ति दुवैलाई सहज बनाउन, कृत्रिम अभाव र कालोबजारी नियन्त्रण गर्न तथा दोषीमाथि कारबाही गर्न सरकारमाथि दबाब बढाएको छ।

लामो समयदेखि ग्यासका लागि उपभोक्ताले सास्ती खेपिरहेको अवस्थामा सरकार र सम्बन्धित निकायले आपूर्ति व्यवस्थापनमा प्रभावकारी हस्तक्षेप नगरे समस्या थप गहिरिन सक्ने प्रदर्शनकारीको चेतावनी छ। पार्टीले तत्काल आपूर्ति सहज नभए आन्दोलनलाई थप विस्तार गर्ने संकेतसमेत गरेको छ।