शेरबहादुर ऐर
धनगढी– सुदूरपश्चिमको एकमात्र ठुलो अस्पताल हो सेति प्रादेशिक अस्पताल । तर, अस्पतालमा बनेका आवासिय संरचनाको उपयोग चिकित्सकले गर्न नपाउने समस्या यथावत रहेको छ ।
अस्पतालमा कार्यरत मेडिकल अफिसर, नर्सहरुले बनेका भवनमा आवास लिने गर्दा काठमाडौं तथा अन्य जिल्लाबाट खटिएका चिकित्सकहरुले आवासका लागि बनेका संरचना (क्वाटर) प्रयोग गर्न पाउँदैनन ।
सेती प्रादेशिक अस्पतालका मेडिकल अधिकृत हुन डाक्टर विनोद लेखक । अस्पतालले उनलाई आवासिय व्यवस्था गरेको छ । तर, नयाँ आउने चिकित्सकले भने अस्पतालले व्यवस्था नगर्दा खटिएको केही दिनमा अन्यत्र जानुपर्ने अवस्था रहेको स्रोतले जनायो ।
लेखक वर्तमान गृहमन्त्री रमेश लेखकका नातेदार पर्छन । उनकै दम्भमा मेडिकल अधिकृत भएर पनि चिकित्सकको आवासिय कक्ष प्रयोग गर्ने गरेका छन । नयाँ चिकित्सक आएर सो कक्ष माग्दा उनले नछोडने गरेको जनाइएको छ ।
सेती प्रादेशिक अस्पतालको आवासिय भवनमा अहिले ५४ परिवार बस्दै आएका छन । त्यसमध्ये चिकित्सक र मेडिकल अधिकृत लगाएर २१ जनाले अस्पतालभित्र आवास सेवा लिइरहेका छन । चिकित्सक र मेडिकल अधिकृत कति बसेका छन भने अस्पतालको प्रशासन शाखासंग रेकर्ड छैन ।
सेतिभित्र चिकित्सक, नर्स, ल्याब टेक्निसियन, सवारी चालक, कार्यालय सहयोगी लगायतमा आवासिय सुविधाका लागि बनाइएको ११ वटा भवनहरु प्रयोग गरिरहेको अस्पताल प्रशासनले जनाएको छ । हरेक वर्ष अस्पतालले आफना सेवाहरु विस्तार गर्दै लग्ने गरेको छ । तर, ति सेवाहरु सहज ढंगले प्रदान गर्न विशेषज्ञ चिकित्सक खटाउँदा उनीहरुले आवासका लागि भवन नपाउने गरेपछि अन्यत्र जानुपर्ने अवस्था रहेको छ ।
ती भवनहरुमा नर्सिङ स्टाफ १७ जना, लेखा अधिकृत एक, एक्सरे स्टाफ दुई जना, ल्याबको एक, ड्राइभर दुई जना, कार्यालय सहयोगी चार जना, अहेव छैठौं दुई जना, एचए छैठौं एक जना, डेन्टल सहायक एक जना बस्ने गरेको अस्पताल प्रशासनले जनाएको छ ।
४२ वर्षदेखि अस्पतालको स्तरोन्नति भने हुन सकेको छैन । अहिलेसम्म नयाँ भवन पनि निर्माण कम्पनिले हष्तान्तरण गर्न सकेको छैन । देश संघियतामा आएपछि सो अस्पताल प्रदेश सरकार मातहात आएको छ । प्रदेश सरकारको मन्त्रीपरिषदको बैठकले दुई सय सैय्याको घोषणा त गरेको छ । तर, त्यसअनुसारको जनशक्ति व्यवस्थापन तथा आवश्यक पूर्बाधार निर्माण गर्न सकेको छैन ।
समयको अन्तरालमा प्रादेशिक अस्पतालमा केही सुविधाहरू थपिँदै गए पनि भवन, चित्किसक र स्वास्थ्यकर्मीको अभाव उस्तै छ । सुदूरपश्चिमका सात जिल्ला अस्पताल, महाकाली अस्पताल, टीकापुर अस्पताल र सेती प्रादेशिक अस्पताल प्रदेश सरकारले सञ्चालन गरेको छ ।
सेती अस्पतला स्थापना भएको ८४ वर्ष बढी भएको छ तर दरबन्दीमा पूरा चिकित्सक र कर्मचारी छैनन । स्तरोन्नतिको कुरा हुन थालेको पनि चार दशकभन्दा धेरै भयो ।
सुदूरपश्चिमका ९ जिल्लाका बासिन्दाले उपचार सेवा लिने मुख्य अस्पताल यही हो । संघीयता कार्यान्वयनपछि प्रदेश सरकार मातहत आएको यो अस्पतालको सेवा दिने प्रणाली भने सुधार भएको छैन । प्रदेशको ‘रेफरल’ अस्पतालका रूपमा रहेको सेती प्रादेशिक अस्पतालमा टिकट काट्नै पनि घन्टौँ लाइनमा उभिनुपर्ने बाध्यता छ । उपचार सेवा पाउन कैयन् दिन कुर्नुपर्ने हुन्छ ।
१९९७ सालमा कैलाली जिल्ला अस्पतालका रूपमा सेती अस्पताल स्थापना भएको थियो । २०४० सालमा अञ्चल अस्पतालमा स्तरोन्नति गरियो । यही अस्पताललाई संघीयता कार्यान्वयनपछि प्रादेशिक अस्पताल भनिएको हो ।
यस अस्पतालमा हाल नेपाल सरकारबाट स्वीकृत ५० वटा र अस्पतालको आन्तरिक स्रोतबाट ७५ वटा गरी १२५ शय्या सञ्चालित छन् । यति शय्याका लागि जनशक्ति अभाव रहेको अस्पताल प्रशसनको भनाइ छ । अस्पतालमा भौतिक संरचना र जनशक्ति अभावसँगै उपलव्ध चिकित्सकहरू अन्यत्र पनि संलग्न हुने गरेको सेवाग्राहीहरूको गुनासो छ । अस्पतालमा सुपरिटेन्डेन्टले सेवा प्रवाहमा सुधार गर्न ध्यान नदिएको गुनासो पनि सेवाग्राहीहरूको छ ।