शुक्रबार, बैशाख ४, २०८३

पश्चिम एसियामा उत्पन्न तनावले नेपाल, ओमान र यूएईबीचको त्रिकोणात्मक सिरिज स्थगित

पश्चिम एसियामा जारी तनावका कारण आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, ओमान र यूएईबीच हुने त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फागुन २६ देखि चैत ६ गतेसम्म सञ्चालन हुने तय भएको सिरिज हालका लागि स्थगित भएको हो ।

खाडी मुलुकमा हवाई मार्ग बन्द भएका कारण यूएई र ओमानका टोलीलाई नेपाल आउन समस्या भएपछि सिरिज स्थगित गरिएको बताइएको छ । सिरिजका लागि दुवै टोली शुक्रबारसम्म नेपाल आइपुग्ने तालिका थियो ।

यसअघि सिरिजका लागि नेपालको २० सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको थियो भने टोली हाल बन्द प्रशिक्षणमा रहेको छ ।