धनगढी । नेपाल फोटोग्राफर्स एशोसिएसन, कैलाली जिल्ला कार्यसमितिले जिल्लामा फोटोग्राफी व्यवसाय सञ्चालनका क्रममा देखिएका विभिन्न समस्या समाधान गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय कैलालीमा ज्ञापनपत्र बुझाएको छ ।
शुक्रबार एशोसिएसनका अध्यक्ष दिवाकर सिंह ठेकरेको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई ज्ञापनपत्र बुझाउँदै जिल्लामा फोटोग्राफी व्यवसायलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन आवश्यक पहल गरिदिन आग्रह गरेको हो । ज्ञापनपत्र बुझाउने कार्यक्रममा नेपाल फोटोग्राफर महासंघका उपाध्यक्ष भुवन राज जोशी, महासंघका सचिव कुलराज चौधरी, र जिल्ला कार्यसमितिका पदाधिकारीहरुका साथै उपसमितिका प्रतिनिधि तथा संस्थाका फोटोग्राफर सदस्यहरूको उपस्थिति रहेको थियो ।
एशोसिएसनले फोटोग्राफी व्यवसाय केवल तस्बिर खिच्ने काममा मात्र सीमित नभई सामाजिक, सांस्कृतिक तथा ऐतिहासिक घटनाहरूलाई भावी पुस्ताका लागि सुरक्षित राख्ने महत्त्वपूर्ण पेसा भएको उल्लेख गरेको छ। कैलालीमा यस व्यवसायमा संलग्न फोटोग्राफरहरूले रोजगारी सिर्जना, सामाजिक अभिलेखीकरण तथा स्थानीय अर्थतन्त्रमा योगदान पु¥याउँदै आएको पनि ज्ञापनपत्रमा उल्लेख छ ।
ज्ञापनपत्रमार्फत एशोसिएसनले मुख्यतः चारवटा विषयमा प्रशासनको ध्यानाकर्षण गराएको छ। पहिलो, पासपोर्ट साइजको फोटो खिच्ने तथा तयार गर्ने कार्यमा एकरूपता कायम गर्न आवश्यक पहल गर्नुपर्ने माग गरिएको छ ।
सम्वन्धित निकायमा सम्वन्धित व्यवसाय दर्ता नगरी फोटोग्राफी तथा भिडियोग्राफी व्यवसाय सञ्चालन गरिरहेको विषय उठाउँदै त्यस्ता गतिविधिलाई नियमन गर्न आग्रह गरिएको छ ।
त्यसैगरी, सामाजिक सञ्जालमार्फत हुने फोटोग्राफी तथा भिडियोग्राफीसम्बन्धी ठगी नियन्त्रण गर्न आवश्यक पहल गर्नुपर्ने माग गरिएको छ। जिल्लाभरका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलमा अव्यवस्थित रूपमा फोटो तथा भिडियोग्राफी गर्ने कार्यलाई प्रचलित कानुन अनुसार व्यवस्थित गर्न पनि एशोसिएसनले आग्रह गरेको छ ।
एशोसिएसनले सम्बन्धित निकायबीच आवश्यक समन्वय, व्यवसायीको हकहितको संरक्षण तथा प्रचलित कानुनको प्रभावकारी कार्यान्वयनमार्फत फोटोग्राफी व्यवसायलाई थप व्यवस्थित बनाउन सकिने विश्वास व्यक्त गरेको छ ।
ज्ञापनपत्रमा अध्यक्ष ठेकरेले कैलाली जिल्लामा फोटोग्राफी व्यवसायलाई मर्यादित, सुरक्षित र व्यवस्थित बनाउँदै व्यवसायी तथा सेवाग्राही दुवैको हित संरक्षण गर्न प्रशासनको सकारात्मक पहल आवश्यक रहेको उल्लेख गरेका छन् ।