सोमवार, असार १५, २०८३

राष्ट्रिय धान दिवसमा ईमरल्ड एकेडेमीका विद्यार्थीले गरे धान रोपाइँ

धनगढी । राष्ट्रिय धान दिवस–२०८३ को अवसरमा ईमरल्ड एकेडेमीले विविध कार्यक्रम आयोजना गर्दै दिवस उत्साहपूर्वक मनाएको छ।

“मानो रोपेर मुरी फलाउने” नेपाली कृषकको महान् अभियानप्रति सम्मान व्यक्त गर्दै विद्यालय परिसरमा विद्यार्थीहरूको सक्रिय सहभागितामा धान रोपाइँ कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रममा विद्यार्थीहरूले जमिन जोत्ने, पानी सिंचाइ गर्ने तथा धान रोप्ने जस्ता कृषि गतिविधिमा प्रत्यक्ष सहभागिता जनाएका थिए।

विद्यालयका अनुसार कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थीहरूलाई खाद्यान्न उत्पादनका पछाडि किसानहरूले गर्ने कठिन परिश्रमबारे जानकारी गराउनुका साथै गुणस्तरीय बीउ, आवश्यक पानी, उपयुक्त जमिन र खेती प्रक्रियासम्बन्धी व्यवहारिक ज्ञान प्रदान गर्नु रहेको थियो।

पुस्तकमा सीमित ज्ञानलाई व्यवहारिक अभ्याससँग जोड्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रमले विद्यार्थीहरूमा कृषि, श्रम र उत्पादनप्रति सम्मानको भावना विकास गर्न सहयोग पुगेको विद्यालयले जनाएको छ।

धान दिवसको सांस्कृतिक महत्वलाई आत्मसात् गर्दै विद्यालयले पीजीदेखि कक्षा १ सम्म अध्ययनरत विद्यार्थीहरूलाई दही, चिउरा र आँप वितरण गरेको थियो। नेपाली कृषि संस्कृतिसँग जोडिएको परम्परागत परिकारको स्वादसँगै विद्यार्थीहरूले धान दिवसको महत्वबारे समेत जानकारी प्राप्त गरेका थिए।

विद्यालय प्रशासनले यस्ता गतिविधिहरूले विद्यार्थीहरूलाई कृषि क्षेत्रको महत्व, किसानको योगदान तथा श्रमको सम्मानबारे बुझ्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ। साथै, भविष्यमा पनि जीवनोपयोगी, सिर्जनात्मक तथा अनुभवमूलक सिकाइका कार्यक्रमहरूलाई निरन्तरता दिइने प्रतिबद्धता जनाएको छ।

राष्ट्रिय धान दिवसको अवसरमा आयोजित यस कार्यक्रमले विद्यार्थीहरूलाई नेपाली कृषि, संस्कृति र उत्पादनसँग नजिकबाट परिचित गराउनुका साथै व्यवहारिक शिक्षाको महत्वलाई समेत उजागर गरेको छ।