काठमाडौं । पुस्तौंदेखि नेपाली भूमि जोगाउँदै आएका नवलपरासी सुस्ताका बासिन्दाले अब काठमाडौंकेन्द्रित आन्दोलन गर्ने भएका छन् ।
नागरिकता, भूमि अधिकार र सीमा सुरक्षाजस्ता आधारभूत मागप्रति वर्षौदेखि बेवास्ता भएपछि उनीहरुले काठमाडौं आएरै सिंहदरबार घेर्ने तयारी गरेका हुन् ।
‘सुस्ता बचाऊ अभियान’ र ‘सुस्ता बचाऊ युवा अभियान’ ले संयुक्त पत्रकार सम्मेलन गर्दै सरकारी उपेक्षाका कारण आफूहरु नागरिकता र भूमिविहीनसँगै भारतीय सुरक्षाकर्मीको चेपुवामा परिरहेको भनी साउन पहिलो सातादेखि राजधानीकेन्द्रित आन्दोलन गर्ने बताएका छन् ।
सुस्ता बचाऊ आन्दोलनका अध्यक्ष आलम खाँले सीमा सुरक्षा गर्दै आएका सुस्ताबासी नागरिकविहीन भएर बस्नुपरेको बताउँदै संसद्मा प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिले भारतीयको मनोबल झनै बढाएको गुनासो गरे । नेपाली भएकै कारण सुस्ताबासीले पटकपटक दुःख र अपमान सहनुपरेको उनको गुनासो छ ।
सुस्ता बचाऊ युवा अभियानका अध्यक्ष योगेन्द्र गौतम भारतीय सुरक्षाकर्मी सुस्ता पसेर गोली चलाउँदासमेत सरकार मौन रहनु दुःखद् भएको बताउँछन् । पछिल्लो समय भारतले सीमा क्षेत्रमा तारबार निर्माण गरिरहेको भन्दै उनले नेपाली भूमिको सुरक्षाप्रति सरकार जिम्मेवार नरहेको आरोप लगाए ।
उल्टै आफ्नो भूमिको रक्षा गर्दै आएका सुस्ताबासी नागरिकताविहीन हुनुपरेको उनको दुःखेसो छ । गौतमका अनुसार सुस्तामा करिब एक सय २० घरधुरी परिवार छन् । जसमध्ये एक सय युवा अझै नागरिकताविहीन छन् । नागरिकता नहुँदा शिक्षा, रोजगारी, बैंकिङ्गसहित सरकारी सुविधाबाट वञ्चित हुनुपरेको उनी बताउँछन् ।
उनीहरुले सुस्ताबासीलाई तत्काल नागरिकता उपलब्ध गराउन, भोगचलनमा रहेको जग्गाको नापजाँच गरी लालपुर्जा वितरण गर्न, सीमा सुरक्षा मजबुत बनाउन र शिक्षा, स्वास्थ्य, सडक र सञ्चारजस्ता आधारभूत सेवामा पहुँच सुनिश्चित गर्न सरकारसँग माग गरेका छन् ।