सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–१ का मनिराम अधिकारीकी १८ वर्षीया छोरी हीरा आइतबार बेलुकातिर आँपको बोटबाट लडेर गम्भीर घाइते भइन् । उनको शरीरका विभिन्न ठाउँमा फ्र्याक्चर भयो ।
मनिराम र आफन्त मिलेर हीरालाई राति साढे ९ बजेतिर प्रदेश अस्पतालको इमर्जेन्सी कक्षमा भर्ना गरे । उपचार पनि सुरु भयो । डाक्टरले एक्स–रे गरेर ल्याउन भने । मनिरामका अनुसार सुरुमा डाक्टरले हड्डी मिलाउने काम गरेपछि पुनः एक्स–रे गर्न सल्लाह दिए । उनीहरू एक्स–रे कोठामा पुगे ।
‘एक्स–रे गर्न सामान्यतया ५–७ मिनेट लाग्ने हो, तर त्यहाँका कर्मचारीले एक घण्टाभन्दा बढी समय लगाए,’ मनिरामले रातोपाटीसँग भने, ‘त्यहाँ हामीबाहेक अरू बिरामी पनि थिएनन् । पछि बुझ्दा त भित्र एक्स–रे गर्ने मान्छे मदिरा सेवन गरेर मातेका रहेछन् ।’ मनिरामका अनुसार एक्स–रे विभागका ती कर्मचारीले लापरबाही गरेर फरक रिपोर्ट तयार पारेको पनि बताए । उनका अनुसार तेस्रो पटकको एक्स–रे गर्दा डाक्टरले ‘एल्बो’ (कुइनो) र ‘सोल्डर’ (कुम) को एक्स–रे गर्न पठाएका रहेछन् । उनीहरूले खुट्टाको जोर्नीको एक्स–रे निकालेर पठाइदिए । ‘हामीलाई थाहा थिएन, त्यो रिपोर्ट लिएर डाक्टरलाई देखायौँ, डाक्टर उल्टै हामीलाई रिसाउनुभयो,’ उनी भन्छन्, ‘कुन एक्स–रे गर्न पठाएको, के लिएर आउनुभयो ? भन्नुभयो ।’
त्यसपछि मनिरामले स्वयं डाक्टरलाई नै एक्स–रे कोठामा लिएर गए । उनले अगाडि भने, ‘त्यहाँ जाँदा त कर्मचारी मदिराले मातेको भेटियो । बिरामीको संवेदनशीलतालाई वास्ता नगरी छोरीको हात झन् बटारिदिएको र हड्डी पहिलाकै ठाउँमा पुगेको देखियो ।’
साथै, एक्स–रे को कभरसमेत नदिई हातैमा रिपोर्ट थमाइदिएको गुनासो उनको छ ।
‘गम्भीर प्रकृतिको रिपोर्ट हाल्ने कभर माग्दा उल्टै मलाई अघि लिनुभएको होइन भनेर थर्काए,’ उनले गुनासो गरे, ‘यति ठुलो अस्पतालमा यस्तो लापरबाही पनि हुने रहेछ । लापरबाहीको पनि हद हुन्छ नि ?’ त्यसपछि डाक्टरले नै मनिरामलाई अस्पताल प्रशासनकहाँ उजुरी गर्न आग्रह गरेको र आफूले अस्पतालका सूचना अधिकारी अनिता ज्ञवालीलाई राति फोन गरेर गुनासो टिपाएको अधिकारी बताउँछन् ।
अस्पताल भन्छः ड्युटीमा नभएको कर्मचारी मदिरा खाएर गएको रहेछ
अस्पताल प्रशासनले भने ड्युटीमा नरहेको व्यक्तिको बदमासीका कारण लापरबाही भएको बताएको छ । बिरामीका बुबा मनिरामको गुनासोपश्चात अस्पतालकी सूचना अधिकारी अनिता ज्ञवालीले सोमबार अस्पताल पुगेर सोधखोज गरिन् । सीसीटीभी पनि अध्ययन गरियो ।
उनका अनुसार सुरुमा ड्युटीमा रहेका कर्मचारीले बिरामीको एक्स–रे गरेर पठाउनुभएको थियो । त्यसपछि इमर्जेन्सी कक्षका डाक्टरले अर्को भागको पनि एक्स–रे गर्नुपर्ने भन्दै थप परीक्षणका लागि पठाउनुभयो । ‘दोस्रो पटक जाँदा थपिएको भागको मात्र एक्स–रे गर्नुपर्ने थियो,’ ज्ञवालीले रातोपाटीसँग भनिन्, ‘तर, त्यस समयमा ड्युटीमा रहेका कर्मचारी अन्य वार्डमा जानुभएको रहेछ । ठिक त्यही समयमा अस्पतालकै अर्का एक कर्मचारी, जो त्यस दिन ड्युटीमा थिएनन्, त्यहाँ आइपुगेछन् ।’
त्यहाँ आइपुगेका व्यक्ति अस्पतालकै कर्मचारी भएको तर ड्युटी नभएको उनले बताइन् । यद्यपि ती व्यक्तिले मदिरा सेवन गरेको कुरा भने सत्य भएको ज्ञवाली बताउँछिन् । तर रिपोर्ट भने अभिभावकले भनेअनुसार एउटा र अर्कै अङ्गको एक्स–रे गरेको भन्ने कुरा सही नभएको उनले भनाइ छ । उनका अनुसार ड्युटीमा रहेका कर्मचारी बाहिर भएको मौका छोपेर ती मदिरा सेवन गरेका कर्मचारी एक्स–रे कोठामा छिरेछन् । उनले पहिले भइसकेको र पछि थपिएको सबै भागको एकैचोटि एक्स–रे प्रिन्ट गरिदिएछन् ।
‘रिपोर्ट दोहोरिनुको मुख्य कारण यही नै हो,’ उनले भनिन् ।
उनका अनुसार ड्युटी नभएको व्यक्ति किन मदिरा सेवन गरेर अफिस गए भन्ने विषयमा स्पष्टीकरण सोधिसकिएको छ । अस्पतालमा रातिको समयमा एक्स–रे विभागमा एक जना मात्र कर्मचारी ड्युटीमा रहन्छन् ।
‘ड्युटीमा नभएको कर्मचारी मदिरा सेवन गरेर किन त्यहाँ प्रवेश गर्यो भन्ने नै मुख्य प्रश्न हो,’ ज्ञवालीले भनिन्, ‘हामीले यसलाई गम्भीरतापूर्वक लिएका छौँ । उनीसँग स्पष्टीकरण मागिएको छ र यसबारे सम्बन्धित मन्त्रालयमा पनि आधिकारिक जानकारी पठाउँदै छौँ ।’
यद्यपि बिरामी हीराका बुबा मनिरामले भने अस्पताल प्रशासनले आफ्ना कर्मचारीको कमजोरीलाई बचाउ गर्न खोजेको बताए । उनले प्रश्न गरे, ‘बाहिरको मान्छे आएर अस्पतालको एक्स–रे मेसिन चलाउँदासम्म प्रशासन के हेरेर बस्यो ? हाम्रो लागि त जो भित्र बसेर काम गर्छ, उही कर्मचारी हो ।’
उनका अनुसार उनीहरूले न ड्रेस लगाएका थिए, न त परिचयपत्र नै झुन्ड्याएका थिए । ‘एक जना दाह्री पालेको र अर्को मान्छेले छोरीको शरीरसँग खेलबाड गरे,’ उनले थपे । रिपोर्ट फरक अङ्गको नभएको र मदिरा सेवन गरेकाले सबै एकै पटक प्रिन्ट गरेको कुरामा पनि उनले अस्वीकार गरे ।
‘यदि प्रिन्टको मात्र समस्या हुन्थ्यो भने डाक्टरले मलाई किन गाली गर्थे ? डाक्टर आफैँले भित्र गएर मैले एउटा भागको मागेको, तिमीहरूले किन अर्को भागको दिएको ? भनेर कर्मचारीलाई सोध्नुभएको थियो,’ मनिरामले भने, ‘मसँग यसको भ्वाइस रेकर्ड पनि छ ।’
प्रदेश अस्पताल सुर्खेतलाई देशकै उदाहरणीय अस्पतालको रूपमा हेरिन्छ । तर यसभित्रको सेवा सुविधाको विषयमा भने सधैँ प्रश्न उठ्दै आएको छ । यसअघि पिसाब परीक्षणको नमुना दिँदा कर्मचारीले दिसाको समेत रिपोर्ट निकालेका थिए । यस विषयमा सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले घटनाबारे छानबिन गर्न निर्देशन दिइसकेका छन् ।
भण्डारीको सचिवालयले भन्यो, ‘अस्पतालका प्रमुख डाक्टर गणेश थापालाई आवश्यक छानबिनका लागि भनिसकिएको छ ।’