सोमवार, असार १५, २०८३

मुख्यमन्त्रीको क्षेत्रमा सामाजिक विकास मन्त्रालयबाट एक सयभन्दा बढी योजना

धनगढी: सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो निर्वाचन क्षेत्रमा सामाजिक विकास मन्त्रालयबाट एक सय १८ योजनामा बजेट छुट्याइएको पाइएको छ।

वार्षिक विकास कार्यक्रम पुस्तिकाअनुसार मुख्यमन्त्री शाहले सामाजिक विकास मन्त्रालयबाट कार्यान्वयन हुने विद्यालय भवन र खेलकुद पूर्वाधार निर्माणका योजनामा ४७ करोड ३९ लाख ४ हजार बजेट हालेको पाइएको छ। उनको निर्वाचन क्षेत्रमा पर्ने लम्कीचुहा नगरपालिका, मोहन्याल गाउँपालिका र जानकी गाउँपालिकामा मुख्यमन्त्री शाहले विद्यालय भवन, खेल मैदान, क्याम्पस भवन, अस्पताल भवन जस्ता योजनामा सामाजिक विकास मन्त्रालयबाट बजेट विनियोजन गराएका हुन्।

सामाजिक विकास मन्त्रालयबाट ८९ योजनामा बजेट हाल्न लगाएका मुख्यमन्त्री शाहले कानुन मन्त्रालयबाट २७ योजनामा बजेट हालेका छन्। आफ्नो निर्वाचन क्षेत्रमा विद्यालय भवन निर्माण गर्न मुख्यमन्त्री शाहले १९ लाखका दरले ९१ विद्यालयमा बजेट हालेका छन्। मुख्यमन्त्री शाहले चर्चदेखि गुरूकुल तथा खेलमैदानदेखि सामुदायिक भवनमा बजेट छुट्याएका छन्।

लम्कीचुहा-३ बल्चौरमा चर्चको सभाहल निर्माण गर्न ३८ लाख बजेट छुट्याएका मुख्यमन्त्री शाहले लम्कीचुहा-१ मा रहेको शिवशक्ति श्री विद्यापिठ गुरूकुल विद्याश्रमका लागि २४ हजार बजेट विनियोजन गरेका छन्। आफ्नो निर्वाचन क्षेत्रमा पर्ने लगभग सबै विद्यालयमा भौतिक संरचना निर्माण गर्न, खेलमैदान तयार गर्न तथा लम्कीचुहा अस्पताल र क्याम्पसको भवन निर्माणका लागि मुख्यमन्त्री शाहले बजेट विनियोजन गरेका छन्।आफ्नो निर्वाचन क्षेत्रमा भौतिक पूर्वाधार विकास मन्त्रालयबाट एक सयभन्दा बढी सडक तथा पुल निर्माणका योजनामा बजेट हालेका मुख्यमन्त्रीले विद्यालय र खेलमैदानका एक सय १८ योजनामा बजेट विनियोजन गर्न सफल भएको पाइएको छ।

मुख्यमन्त्री शाहले सामाजिक विकास कार्यालय कैलालीले कार्यान्वयन गर्ने गरी बजेट विनियोजन गरेका छन्। यस्तै, सामाजिक विकास मन्त्रालयको क्षेत्राधिकारमा पर्ने २७ वटा योजना मुख्यमन्त्री शाहले कानुन मन्त्रालयबाट छिराएको पाइएको छ।

आर्थिक वर्ष २०८३/८४ को वार्षिक विकास कार्यक्रममा समावेश भएका केही योजनाको नाम र रकम दुई पटकसम्म समावेश गरेको पाइएको छ।