काठमाडौं: बझाङको दुर्गाथली गाउँपालिकामा मन्दिर निर्माणका क्रममा भ्रष्टाचार भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारका अनुसार बाँठपाली देवताको मन्दिर निर्माणमा ४५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो। तर वास्तविक कामभन्दा २२ लाख १ हजार रुपैयाँ बढी भुक्तानी दिई सरकारी रकम हिनामिना गरिएको आरोप लगाइएको छ।
यस प्रकरणमा छविसपाथिभेरा गाउँपालिकाकी तत्कालीन उपाध्यक्ष राधिकाकुमारी रताला, वडा नम्बर ६ का तत्कालीन अध्यक्ष मोहनलाल विक, मन्दिर निर्माण उपभोक्ता समितिका अध्यक्ष कृष्ण बुढा, सचिव जयबहादुर बुढा र कोषाध्यक्ष मधुलीदेवी बुढासहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो।
मुद्दा दायर गरिएकामध्ये दुर्गाथली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख मकरबहादुर मण्डेल, लेखापाल प्रेमप्रसाद पौडेल, छविसपाथिभेरा गाउँपालिकाका इन्जिनियर हिक्मत रावल तथा सबइन्जिनियर बमबहादुर बोहरा पनि छन्।
उक्त मन्दिर आर्थिक वर्ष २०७५/७६ को बजेटबाट निर्माण गरिएको थियो। अख्तियारले वास्तविक कामभन्दा बढी रकम भुक्तानी गरी २२ लाख १ हजार रुपैयाँ बराबरको भ्रष्टाचार भएको दाबी गरेको छ।