धनगढी, २९ साउन / ‘प्रदेशमा माननीय मात्रै हुन्छु भन्ने थाहा पाएको भए चुनाव लड्ने थिइन् ’ भनेर केही समयअघि सार्वजनिक कार्यक्रममा गुनासो गरेका खगराज भट्ट अन्ततः सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री बनेका छन्।
एक कार्यक्रममा भट्टले आफूलाई प्रदेशमा चुनाव लड्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र तत्कालिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आग्रह गरेको स्मरण गरेका थिए। चुनाव जिते मुख्यमन्त्री बन्ने र प्रदेशमा ‘दुई–चार अर्ब’ बजेट हालेर विकासका काम गर्ने योजना आफूले बनाएको उनको भनाइ थियो।
तर चुनाव सकिएको दुई महिनामै आफूलाई मुख्यमन्त्री बनाउने गठबन्धन सकिएपछि राजनीतिक गणितले आफ्नो योजनालाई भताभङ्ग पारेको भट्टको गुनासो थियो।
कहिले कांग्रेससँग, कहिले एमालेसँग गठबन्धन बदलिँदा आफू भने गठबन्धनको हिसाबमा कहिले यता, कहिले उता परेको भट्टले बताएका थिए। बिना विभागीय भौतिक मन्त्रीको भूमिकामै राजनीतिक ‘जागिर’ सकिएको उनको व्यंग्यात्मक गुनासो थियो।
त्यतिबेला भट्टले भनेका थिए; “प्रदेशमा माननीय मात्रै हुन्छ भन्ने थाहा भएको भए आफू चुनाव नै लड्ने थिएन”।
तर राजनीतिमा ‘कुरा’ भन्दा ‘गठबन्धन’ बलियो हुन्छ। गठबन्धन फेरियो, समीकरण फेरियो, मन्त्रालय फेरिए र पदको भागबण्डा पनि फेरिँदै गयो। अन्ततः त्यही राजनीतिक उथलपुथलले भट्टलाई आज सुदूरपश्चिमको मुख्यमन्त्रीको कुर्सीसम्म पुर्याएको छ।
केही समयअघि आफ्नै राजनीतिक यात्राप्रति व्यंग्य गर्दै ‘आखिरमा त्यही ठाउँमा गएर हुने रहेछ’ भनेका भट्टका लागि त्यो वाक्य आज आएर भविष्यवाणीझैं भएको छ।
हिजोसम्म ‘माननीय मात्रै’ भएर चित्त बुझाउनुपर्ने अवस्था सुनाउने भट्ट आज मुख्यमन्त्री बनेका छन्। अब भने प्रदेशको बजेट कहाँ हाल्ने, के गर्ने र कसरी गर्ने भन्ने योजना बनाउने जिम्मेवारी उनकै काँधमा आएको छ।
अर्थात्, केही समयअघि मुख्यमन्त्रीको कुर्सी खोज्दै गठबन्धनको ढोका ढकढक्याइरहेका भट्ट आज त्यही कुर्सीमा पुगेका छन्। राजनीतिको खेलमा कहिले गठबन्धन सकिन्छ, कहिले मन्त्री पद सकिन्छ र कहिले मुख्यमन्त्री पद आइपुग्छ; यसको हिसाब सायद भट्टले पनि चुनावअघि सोचेका थिएनन्।
अब भने प्रदेशमा ‘माननीय मात्रै’ होइन, माननीयबाट मुख्यमन्त्रीसम्मको यात्रा पूरा गरेका खगराज भट्टले आफ्नै पुरानो व्यंग्यलाई व्यवहारमै प्रमाणित गर्ने बेला आएको छ।
हाल बनेको नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट नेकपा एमालेसँगको गठबन्धनमा भट्ट सुदूरपश्चिमको पाँचौं मुख्यमन्त्री बनेका हुन् ।