सोमवार, अशोज १९, २०८३

ट्रक व्यवसायी विष्टले मागे शान्ति सुरक्षा, व्यक्तिगत रिसिबीका कारण ट्रक यातायात व्यवसायी संघका अध्यक्षबाटै धम्की आएको आरोप

धनगढी, १९ असोज / ट्रक व्यवसायी प्रेमबहादुर विष्टले आफू र आफ्नो परिवारलाई डर, त्रास तथा धम्कीको अवस्था सिर्जना भएको भन्दै जिल्ला प्रशासन कार्यालय कैलालीसँग शान्ति सुरक्षाको माग गरेका छन्।

विष्टले सोमबार जिल्ला प्रशासन कार्यालय कैलालीमा निवेदन दिँदै व्यक्तिगत रिसिबी कारण आफूलाई धम्की दिने तथा रकम फिर्ता गराउने भन्दै अपरिचित व्यक्तिहरूलाई घरमा पठाउने गरिएको आरोप लगाएका छन्। यस्तो गतिविधिका कारण आफू र परिवारका सदस्यमा डर त्रासको वातावरण सिर्जना भएको उनले निवेदनमा उल्लेख गरेका छन्।

विष्टका अनुसार उनी सेती महाकाली ट्रक यातायात व्यवसायी संघ, धनगढीको २०७८ सालको साधारण सभाबाट कार्यकारिणी समिति सदस्यमा निर्विरोध चयन भएका थिए। संस्थाको विधान र कार्यकारिणी समितिको निर्णयअनुसार जिम्मेवारी निर्वाह गर्दै आफ्नो कार्यकाल पूरा गरेको उनको भनाइ छ।

उनले २०८१ सालको साधारण सभामा वर्तमान समितिविरुद्ध अर्को प्यानल खडा गरेपछि आफूविरुद्ध व्यक्तिगत रिसइबी राखिएको आरोप लगाएका छन्।

विष्टका अनुसार संस्थामा दर्ता रहेको सुपप्र ०१–०१ ख २८०९ नम्बरको भाडा ट्रक २०७८ कात्तिक ११ गते दुर्घटनामा परेको थियो। दुर्घटनापछि उद्धार समितिको निर्णयअनुसार आफूले पाउने राहतस्वरूप ६० हजार रुपैयाँ बुझेको उनले बताएका छन्।

तर, उक्त रकम अनियमित तरिकाले लिएको भन्दै अहिले प्रश्न उठाइएको विष्टको आरोप छ। उनका अनुसार २०८३ जेठमा सम्पन्न साधारण सभामा उक्त विषय नउठे पनि उनले सोही सभामा वर्तमान कार्यकारिणी समितिले गरेको भनिएको अनियमितताको विरोध गर्दै व्यवसायीहरूको हस्ताक्षर अभियानसमेत सञ्चालन गरेका थिए।

विष्टले आफूलाई  २०८३ साउन १० गते पत्रमार्फत सोधिएको विषयमा साउन १२ गते लिखित जवाफ दिइसकेको बताएका छन्। तर, उक्त जवाफमाथि कुनै प्रतिक्रिया नदिई पुनः असोज १२ गते अर्को पत्र पठाइएको उनको निवेदनमा उल्लेख छ।

त्यसपछि आफूबाट रकम फिर्ता गराउन भन्दै कहिले मानिस पठाउने र कहिले अपरिचित व्यक्तिलाई घरमा पठाएर धाकधम्की दिन लगाउने गरिएको विष्टको आरोप छ। उनले यस्तो कार्य धनगढी उपमहानगरपालिका–१३, मोहनपुरका मोहन सिंह साउँदले गराउँदै आएको आरोप लगाउँदै साउँदलाई जिल्ला प्रशासन कार्यालयमा झिकाई आवश्यक कानुनी कारबाही गर्न माग गरेका छन्।

विष्टले व्यक्तिगत रिसइबीका कारण आफूले संस्थाबाट पाउनुपर्ने राहतसमेत वर्तमान अध्यक्षले रोकेको आरोप लगाएका छन्। यससँग सम्बन्धित फाइलहरू जिल्ला प्रशासन कार्यालयमा पेश गरेको उनले बताएका छन्।

विष्टले लगाएको आरोपबारे सेती महाकाली ट्रक यातायात व्यवसायी संघ कैलालीका तत्कालीन सचिव तथा हालका अध्यक्ष मोहन सिंह साउँदले आफूहरूले नियम र संस्थाको निर्णयअनुसार नै काम गरिरहेको बताएका छन्।

साउँदका अनुसार विष्टले लिएको रकम रितपूर्वक नभएको देखिएकाले असुलउपर गर्नुपर्ने निर्णय समितिले गरेको थियो। सोही निर्णयका आधारमा विष्टलाई पत्र पठाइएको उनले बताए।

आफूमाथि लगाइएका आरोपहरू आरोपका लागि मात्रै लगाइएको दाबी गर्दै साउँदले संस्थाले कानुन र नियममा टेकेर नै काम गरिरहेको बताए।

यसबारे प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले शान्ति सुरक्षाको मागसहित जिल्ला प्रशासन कार्यालयमा निवेदन आएपछि थप छलफल र आवश्यक समन्वयका लागि जिल्ला प्रहरी कार्यालय पठाइएको बताए ।

घटनाका सम्बन्धमा थप आवश्यक समन्वय जिल्ला प्रहरी कार्यालयमार्फत हुने उनले बताए।