पूर्वसूचनाबिनै पटक–पटक विद्युत् कटौती, धनगढीवासी हैरान : राति बत्ती जाँदा ‘नो लाइट’को फोनसमेत उठ्दैन
धनगढी । धनगढी क्षेत्रमा पछिल्लो समय पटक–पटक विद्युत् अवरुद्ध हुन थालेपछि सेवाग्राही समस्यामा परेका छन्। विद्युत् प्राधिकरणले मर्मतसम्भार, प्राविधिक समस्या तथा ट्रान्सफर्मर बिग्रिएकोलगायतका कारण देखाउँदै विद्युत् कटौती गर्दै आएको सेवाग्राहीको गुनासो छ।
विशेषगरी रातिको समयमा पटक–पटक विद्युत् जाँदा विद्यार्थी, बालबालिका तथा ज्येष्ठ नागरिक बढी प्रभावित हुने गरेका छन्। गर्मीको समयमा विद्युत् अवरुद्ध हुँदा पंखा नचल्ने, बालबालिकालाई सुत्न समस्या हुने तथा विद्यार्थीको पढाइसमेत प्रभावित हुने गरेको स्थानीयको भनाइ छ।
सेवाग्राहीका अनुसार विद्युत् कटौती गर्नुपर्ने भए पूर्वसूचना तथा जानकारी गराउनुपर्ने भए पनि कतिपय अवस्थामा बिनासूचना विद्युत् अवरुद्ध हुने गरेको छ। कैलालीका विभिन्न क्षेत्रबाट समेत विद्युत् सेवा अवरुद्ध तथा समस्या आएपछि समयमै प्राविधिक नआएको गुनासो आउने गरेको बताइएको छ।
क्षेत्रका स्थानीय सन्दीप सेढाईले आफ्नो घरमा विद्युत् सम्बन्धी समस्या आएपछि सम्बन्धित निकायमा जानकारी गराउँदा समेत समयमै प्राविधिक टोली नआएको गुनासो गरेका छन्। उनका अनुसार विद्युत् सेवा नियमित बनाउन सम्बन्धित कार्यालयले सेवाग्राहीको समस्यालाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता छ।
धनगढी क्षेत्रमा पनि पछिल्लो समय विद्युत् कटौतीको समस्या बढ्दै गएको सेवाग्राही बताउँछन्। आज अत्तरियालगायतका क्षेत्रमा ठूलो ट्रान्सफर्मरमा समस्या आएपछि विद्युत् आपूर्ति प्रभावित भएको प्राधिकरणले जनाएको छ। तर, नियमित मर्मत तथा प्राविधिक समस्या भन्दै पटक–पटक विद्युत् अवरुद्ध हुँदा दीर्घकालीन समाधान खोज्नुपर्ने सेवाग्राहीको माग छ।
विद्युत् गएपछि समस्या समाधानका लागि स्थानीयले ‘नो लाइट’ सेवामा सम्पर्क गर्ने गरे पनि कतिपय समयमा फोन नउठ्ने गरेको गुनासो छ। धनगढी विद्युत् प्राधिकरणका प्रमुखसमक्ष समेत पटक–पटक गुनासो गरिएको स्थानीयको भनाइ छ। तर, रातिको समयमा फोन नगर्न भनिएको तथा पटक–पटक सम्पर्क गर्दा पनि सम्बन्धित निकायसँग सहज सम्पर्क हुन नसकेको उनीहरूको गुनासो छ।
मिडियामार्फत समेत विद्युत् समस्याबारे पटक–पटक जानकारी गराउँदा सम्बन्धित अधिकारीले समस्या बुझेर आवश्यक निर्देशन दिने बताउँदै आए पनि सेवाग्राहीले भने समस्या अझै समाधान नभएको बताएका छन्।
विद्युत् जस्तो अत्यावश्यक सेवा पटक–पटक अवरुद्ध हुँदा त्यसको प्रत्यक्ष असर सर्वसाधारणको दैनिक जीवन, विद्यार्थीको अध्ययन तथा व्यवसायमा समेत पर्ने गरेको छ। त्यसैले विद्युत् कटौती गर्नुपर्ने अवस्था भए पूर्वसूचना दिने व्यवस्था प्रभावकारी बनाउन, ‘नो लाइट’ सेवा चुस्त बनाउन तथा प्राविधिक समस्या देखिएपछि तत्काल समाधान गर्ने संयन्त्र प्रभावकारी बनाउन सेवाग्राहीले माग गरेका छन्।
सेवाग्राहीको प्रश्न छ—विद्युत् काटिँदा सूचना दिने व्यवस्था र समस्या पर्दा फोन उठाउने जिम्मेवारी आखिर कसको हो?