सोमवार, अशोज १९, २०८३

निवर्तमान मुख्यन्त्री शाह र भारतका पूर्वमुख्यमन्त्री रावतबीच छलफल

धनगढी– नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाह र भारतको उत्तराखण्डका पूर्वमुख्यमन्त्री एवं भारतीय जनता पार्टी (भाजपा) का राष्ट्रिय उपाध्यक्ष तीरथ सिंह रावतबीच शनिबार नयाँदिल्लीमा भेटवार्ता भएको छ ।
उपचारका लागि भारतमा रहेका शाहसँगको भेटमा रावतले हालै रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित परिवारप्रति समवेदना प्रकट गरेका थिए ।
भेटमा बाढीबाट भएको मानवीय तथा भौतिक क्षति, प्रभावित क्षेत्रको अवस्था र विपद्का समयमा आवश्यक उद्धार तथा राहतका विषयमा छलफल भएको बताइएको छ । रावतले विपद्का कारण नेपालमा उत्पन्न दुःखद परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै पीडित तथा प्रभावित नागरिकप्रति सहानुभूति व्यक्त गरेका थिए ।
रावतले प्राकृतिक विपद्को यस कठिन समयमा नेपाललाई आवश्यक मानवीय सहयोग उपलब्ध गराउन तथा उद्धार र राहतका कार्यमा सहयोग गर्न भारत सरकार तयार रहेको बताएका थिए । उनले विपद्का बेला छिमेकी मुलुकबीच सहकार्य र मानवीय सहयोगको महत्वसमेत उल्लेख गरेका थिए ।
रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएको छ । बाढीले स्थानीय बस्ती, भौतिक संरचना तथा जनजीवनमा समेत असर पारेको छ । विपद्पछि उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारी तथा गैरसरकारी निकायबाट प्रयास भइरहेका छन् ।
निवर्तमान मुख्यमन्त्री शाह उपचारका लागि यही भदौ १० गते स्थलमार्ग हुँदै भारत प्रस्थान गरेका थिए । नयाँदिल्लीमा रहँदा भएको रावतसँगको भेटलाई नेपाल–भारतबीचको पारस्परिक सद्भाव र मानवीय सम्बन्धको निरन्तरताका रूपमा हेरिएको छ ।