सोमवार, अशोज १९, २०८३

ह्वेनसाङको दक्षिण एसिया यात्रा : धार्मिक यात्राभन्दा धेरै थियो उद्देश्य

करिब १४ सय वर्षअघि चीनबाट दक्षिण एसिया छिरेका चिनियाँ भिक्षु ह्वेनसाङले पैदल हिँडेर संकलन गरेको इतिहास अब नेपालीमै पढ्न पाइने भएको छ । ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ को नेपाली संस्करण आज काठमाडौंमा लोकार्पण गरिएको छ ।

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाललगायतको उपस्थितिमा पुस्तकको नेपाली संस्करण सार्वजनिक गरिएको हो । ह्वेनसाङको यात्रा केवल धार्मिक यात्रामात्र थिएन, उनले बाटोमा देखेको भूगोल, समाज, संस्कृति, धर्म र जनजीवन टिपोट गर्दै गए । त्यही टिपोट अहिले नेपाली पाठकको हातमा आइपुगेको छ ।

पुस्तक लोकार्पण गर्दै अध्यक्ष दाहालले ह्वेनसाङले त्यतिबेला जोखिम मोलेर यात्रा नगरेका भए आज दक्षिण एसियाको इतिहासका कतिपय पाना हामीले पढ्न नपाउने अवस्था आउने बताएका छन् । उनले नेपाल–चीन सम्बन्धको चर्चा गर्दै ह्वेनसाङ, फा स्यानदेखि अरनिको, भृकुटीदेखि बुद्धभद्रसम्मको प्रसंग जोड्दै दुई देशको सम्बन्ध कूटनीतिक सम्बन्ध स्थापना हुनुभन्दा धेरै पहिलेदेखि नै चलिआएको बताए । अध्यक्ष दाहालका अनुसार नेपाल र चीनबीचको सम्बन्ध केवल सरकार–सरकारबीचको विषय मात्रै नभएर नागरिक, ज्ञान, विचार, कला र संस्कृतिको आदानप्रदानले पनि यसलाई बलियो बनाएको हो ।

दाहालले नेपाली संस्करणलाई प्राचीन ग्रन्थको अनुवादमा मात्रै सीमित नगरी इतिहास बुझ्ने माध्यमका रूपमा प्रस्तुत गरे । इतिहास पढेपछि मात्रै त्यसको अर्थ बुझिने भन्दै उनले पुस्तक धेरैभन्दा धेरै नेपाली, विशेषगरी युवा पुस्तासम्म पुग्ने विश्वास व्यक्त गरे ।

अध्यक्ष दाहालले पुस्तकको नेपाली संस्करणले नेपाल–चीन सम्बन्ध थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । पूर्व शिक्षामन्त्री रघुजी पन्तले पनि अनुवादक फु छिआङको प्रयासको चर्चा गर्दै नेपाल–चीन सम्बन्धलाई जनस्तरमा बलियो बनाउन, ऐतिहासिक मित्रतालाई थप कसिलो बनाउन पुस्तकले सहयोग पुर्याउने बताए ।