नेकपा एमालेमा चलिरहेको नेतृत्व पुनर्गठनको बहस पेचिलो बन्दै जाँदा पार्टी विभाजनको डिलमा पुगेको छ । पुनर्गठन कार्यदलको तर्फबाट उपाध्यक्ष रामबहादुर थापा बादल र महासचिव शंकर पोखरेलले तयार पारेको छुट्टा छुट्टै प्रतिवेदनमध्ये कुनलाई अगाडि बढाउने भन्ने रस्साकस्सीबीच स्वयं अध्यक्ष केपी शर्मा ओलीले त्यस्तो संकेत गरेको स्रोतहरूले बताएका छन् ।
एक स्रोतका अनुसार हालै आफूनिकट नेताहरूसँगको गोप्य छलफलमा ओलीले आवश्यक परे नयाँ पार्टी पार्टी गठनका लागि तयार रहन भनिसकेका छन् । पार्टीको नाम र सूर्य चिन्ह आफूसँग नहुनसक्ने भन्दै उनले नयाँ पार्टी दर्ता गर्नुपर्ने पनि हुनसक्ने स्पष्ट सन्देश दिएको बताइएको छ ।
यसअघि नेकपाकालमा पनि आफू अल्पमतमा परेपछि ओलीले सम्भावित अवस्थालाई हेरेर नयाँ पार्टी दर्ता गराएका थिए । ‘नेकपा एमाले’ र उदाउँदो सूर्य चिन्ह राखेर महेश बस्नेतको अगुवाइमा निर्वाचन आयोगमा दल दर्ता गरिएको थियो । यो प्रसंग उल्लेख गर्दै एक नेताले अहिलेको अन्तरसंघर्ष पनि ध्वंसात्मक दिशामा अघि बढेको बताए ।
‘आफूले छोड्नुपरे कुर्सी नै भाँचिदिने उहाँको सिध्दान्त नै हो । त्यो बेला पनि अल्पमतमा परेपछि अनेक तिकडम गर्नुभएको थियो’,ती नेता भन्छन्, ‘अहिले पनि अर्को पार्टी बनाउनेसम्मको मनस्थितिमा रहेको भन्ने बुझिन्छ ।’
गत भदौको जेनजी घटना र २१ फागुनको चुनावमा पार्टीको लज्जास्पद पराजयको नैतिक जिम्मेवारी लिँदै ओलीले मार्गप्रशस्त गर्नुपर्ने मत एमालेमा तलदेखि माथिसम्म उठिरहेको छ । कार्यदलको तर्फबाट महासचिव शंकर पोखरेलले त्यस्तै आशयको प्रतिवेदन दिएका छन् । तर,कुनै हालतमा नेतृत्व नछोड्ने अडानमा रहेका ओलीले उपाध्यक्ष थापामार्फत् काउन्टर प्रतिवेदन ल्याएपछि विवाद चर्किएको छ ।
यसबीच दुवै प्रतिवेदन यौटै बनाउने र आफू नेतृत्वमा रहिरहने प्रयासमा समेत अपेक्षित सफलता नमिलेपछि ओलीले विभिन्न विकल्पमा छलफल चलाएको बताइन्छ । स्रोतका अनुसार उनले तीन वटा विकल्प समानान्तर ढंगले अघि बढाएका छन् । सकभर शंकरको प्रतिवेदन केन्द्रीय समितिमा पेश गर्नै नदिने ओलीको योजना छ । त्यो सम्भव नहुँदा ‘नेतृत्व परिवर्तन’ भन्ने भाषा हटाउनेमा जोड रहने छ ।
पूर्वराष्ट्रपति विद्या भण्डारीलाई अघि सारेर नेकपासँग एकता गर्ने र पुनर्गठन पक्षधर नेताहरूलाई ‘चेक’ दिने ओलीको दोस्रो विकल्प हो । त्यसो हुँदा पार्टीमा सांगठनिक पकड आफ्नै हातमा रहिरहने उनको बुझाइ छ । दुई दिनअघि वर्षमान पुन र शेरधन राईबीच सानेपास्थित होटल भिभान्तामा गोप्य भेट भएको थियो । ओलीकै निर्देशनमा राई वर्षमानलाई भेट्न पुगेको दाबी स्रोतको छ ।
सचिवालय र केन्द्रीय कमिटीमा अल्पमतमा रहेको बुझेका ओलीको तेस्रो विकल्प भनेको पार्टी फुटाउने नै हो । नेताहरूका अनुसार बरू पार्टी फुटोस् तर अध्यक्ष नछोड्ने स्पष्ट अडानमा रहेका उनी उस्तै परे गैरकम्युनिष्ट पार्टी बनाउनसमेत पछि पर्ने छैनन् ।
स्रोतको दाबी केसम्म छ भने शेरबहादुर देउवा र कमल थापासँग मिलेर राष्ट्रवादी पार्टी बनाउने तहमा ओलीले छलफल चलाइरहेका छन् । रोचक कुरा,नेपाली कांग्रेसका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कांग्रेस विभाजित भए त्यसको केही महिनामै एमाले र नेपाली कम्युनिष्ट पार्टी पनि सग्लो नरहने दाबी गरेका छन् । संविधान निर्माणमा भूमिका खेलेका स्थापित पार्टीहरुलाई फुटाउने षड्यन्त्र भैरहेको दाबी गर्दै उनले सभापति गगन थापालाई सचेत गराएका छन् ।
प्रतिवेदनबारे छलफल गर्न हिजो गुन्डु पुगेका महासचिव शंकर र उपाध्यक्ष पिएस गुरुङसँग ओलीको भनाभन भएको थियो । उनले आफू सिनिएर हुँदाहुँदै जबर्जस्ती हटाउन खोजे भन्दै प्रतिवेदन पुनर्लेखन गर्न दबाब दिएपछि तीतोपिरो भएको खुलाउँदै स्रोत भन्छ- ‘कार्यकर्ताको सुझावका आधारमा तयार पारेको प्रतिवेदन सच्याउन नसकिने महासचिवको जवाफपछि ओली आगो हुनुभएछ । त्यसपछि पिएसले पनि कार्यकर्ताको कुरा नमान्ने तपाईं को हो ? भनेपछि भनाभन भएछ ।’