सोमवार, अशोज १९, २०८३

मन्त्रीका गाडीमा दुई महिनामै कालो स्टिकर!

गृहमन्त्री सुधन गुरुङ्गको निर्देशनपछि मन्त्री र उच्च पदस्थहरुको गाडीको सिसाबाट हटाइएको कालो स्टिकर फेरि टाँस्न थालिएको छ । गृहमन्त्री गुरुङ्गले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय पुगेर गाडीको सिसामा लगाइएको कालो स्टिकर हटाउन निर्देशन दिएका थिए ।

सिंहदरबारमै पुगेर ट्राफिक प्रहरीले मन्त्री र सचिवहरुको चार पाङ्ग्रे सवारी साधनबाट कालो स्टिकर हटाएको थियो । गृहमन्त्री गुरुङ्ग र तत्कालीन गृहसचिव राजकुमार श्रेष्ठको गाडीबाट असार १५ गते कालो स्टिकर निकालियो । त्यसपछि पालैपालो अन्य गाडीबाट पनि कालो स्टिकर हटाइयो । तर, दुई महिनामै फेरि स्टिकर सेतोबाट कालो नै बनाइएको छ । मन्त्री चढ्ने बा.२ झ ४९२७ नम्बरको गाडीमा कालो स्टिकर टाँसिएको पाइएको छ । सरकार र मन्त्रीप्रति बढ्दो जनआक्रोशका कारण फेरि कालो स्टिकर टाँस्न थालिएको स्रोत बताउँछ । ‘सरकारको कामकारबाहीप्रति सर्वसाधारणको आक्रोश बढ्दै गएको छ । त्यसैले फेरि कालो स्टिकर टाँस्न थालिएको हो’,स्रोतले भन्यो ।

यातायात कार्यालयको अनुमतिबिना गाडीमा कालो सिसा लगाउन पाइँदैन । उच्च पदस्थहरुले आफूखुशी कालो स्टिकर टाँस्ने गरेकोमा राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार बनेपछि हटाउने भनियो । गृहमन्त्री गुरुङ्गबाट भएको निर्देशनको व्यापक चर्चा भएको थियो । तर, दुई महिनामै फेरि कालो स्टिकर टाँस्न थालिएको छ ।