सोमवार, अशोज १९, २०८३

सुदूरपश्चिमका सिंह, बोगटी र बोहराको जिम्मेवारी खोसियो, लेबी बुझाउन निर्देशन

नेपाली कांग्रेसले सुदूरपश्चिमका तीन जिल्लाका सभापतिलाई क्रियाशील सदस्यताबापत उठेको लेबी रकम तत्काल केन्द्रमा दाखिला गर्न निर्देशन दिएको छ।
कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले भदौ ३१ गते बझाङका सभापति खड्कबहादुर बोहरा, डोटीका सभापति नरेन्द्रबहादुर सिंह र कञ्चनपुरका सभापति पदम बोगटीलाई पत्र पठाउँदै लेबी रकम बुझाउन निर्देशन दिएका हुन्। कांग्रेसको १५औँ महाधिवेशनको प्रयोजनका लागि क्रियाशील सदस्यताबापतको रकम वडा तह हुँदै जिल्लामा आइसके पनि केन्द्रमा दाखिला नगरिएको पत्रमा उल्लेख छ। कांग्रेसले उनीहरूलाई क्रियाशील सदस्यताबापत उठेको सम्पूर्ण रकम असोज २ गते दिउँसो १ बजेसम्म केन्द्रीय कार्यालयको बैंक खातामा जम्मा गर्न निर्देशन दिएको हो। पत्रमा भनिएको छ, ‘हालसम्म पनि क्रियाशील सदस्यताबापत उठेको रकम केन्द्रमा दाखिला नगरेको हुँदा क्रियाशील सदस्यताबापतको सम्पूर्ण रकम २०८३ असोज २ गते १ बजेभित्र नेपाली कांग्रेस केन्द्रीय कार्यालयको देहायको खातामा जम्मा गर्न हुन निर्देशानुसार अनुरोध गरिन्छ।’कांग्रेसले असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन गर्ने तयारी गरेको छ। महाधिवेशनको तयारीका क्रममा पार्टीभित्र विवादसमेत चर्किएको छ। यसैबीच, पार्टीको महाधिवेशनमा सहभागी नभएको भन्दै कञ्चनपुर र डोटीका जिल्ला सभापतिलाई दिइएको जिम्मेवारी खोसिएको छ। पूर्वसभापति शेरबहादुर देउवा पक्षले छुट्टै महाधिवेशन गर्ने तयारी गरिरहेका बेला ती जिल्ला सभापतिहरू देउवा पक्षमा उभिएपछि कांग्रेसले उनीहरूको जिम्मेवारी खोसेको बताइएको छ।