धनगढी । सुदूरपश्चिमको सबैभन्दा ठूलो सरकारी अस्पतालका रूपमा रहेको सेती प्रादेशिक अस्पतालमा बिरामीको चाप बढ्दै गए पनि त्यसअनुसार पूर्वाधार र जनशक्ति थपिन सकेको छैन ।
अस्पताल सुधारका लागि प्रदेशका मुख्यमन्त्रीदेखि मन्त्री र विभिन्न सरकारी टोलीले पटक–पटक अनुगमन गर्दै आए पनि सेवाग्राहीले भोग्दै आएका धेरै समस्या अझै समाधान हुन नसकेको हो ।
मुख्यमन्त्री खगराज भट्टले १५/१५ दिनको अवधिमा सेती अस्पतालको निरीक्षण गर्ने गरेका छन् । भट्टले अस्पतालको सेवा, व्यवस्थापन र भौतिक संरचनाको अवस्थाबारे जानकारी लिँदै आएका हुन् ।
सेती अस्पतालमा सुदूरपश्चिमका नौवटै जिल्लाबाट उपचारका लागि बिरामी आउने गर्छन् । बिरामीको चापअनुसार चिकित्सक तथा स्वास्थ्यकर्मी, उपकरण र भौतिक संरचना पर्याप्त नभएको गुनासो लामो समयदेखि हुँदै आएको छ । यही कारण अस्पतालको सेवा व्यवस्थापन सुधारलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने आवाज उठ्दै आएको छ ।
मुख्यमन्त्रीले गरेको अनुगमनपछि पनि अस्पतालका पुराना समस्या तत्कालै समाधान हुनेमा सेवाग्राही ढुक्क छैनन् । कारण हो, यसअघि पनि अस्पतालमा अनुगमनको कमी थिएन । समस्या पहिचान गर्ने र सुधार गर्ने प्रतिबद्धता पटक–पटक भए पनि धेरै विषय कार्यान्वयनमा जान सकेका छैनन् ।
सुदूरपश्चिम प्रदेश गठनपछि पहिलो मुख्यमन्त्री बनेका त्रिलोचन भट्टले २०७४ फागुन ६ गते पदभार सम्हालेपछि नै सेती अस्पतालको निरीक्षण गरेका थिए । त्यसबेला बिरामीले उपचारमा सहजता नभएको गुनासो गरेपछि उनले बिरामी, कुरुवा र कर्मचारीसँग अस्पतालको सेवाबारे जानकारी लिएका थिए । स्वास्थ्यकर्मीलाई बिरामीमैत्री व्यवहार गर्न निर्देशन पनि दिइएको थियो ।
त्यसयता प्रदेशको नेतृत्वमा धेरै पटक परिवर्तन भयो । मुख्यमन्त्री र मन्त्रीहरू फेरिए, अस्पतालका मुख्य समस्या भने धेरै हदसम्म उस्तै रहे ।
तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाहले पनि आफ्नो पहिलो कार्यकालमा सेती अस्पताल पुगेर आकस्मिक कक्षसहित विभिन्न वार्डको निरीक्षण गरेका थिए । अस्पताल व्यवस्थापनसँग छलफल गर्दै उनले जनशक्ति र भौतिक संरचनाको समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका थिए ।
तत्कालीन भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश देउवा, सामाजिक विकासमन्त्री झपट साउदलगायतले पनि अस्पतालको निरीक्षण गरेका थिए । अघिल्लो कार्यकालमा सामाजिक विकासमन्त्री रहेका दीर्घ सोडारीले समेत अस्पतालको अवस्था बुझेर सुधारका योजना अघि बढाउने बताएका थिए । उनी पछि मुख्यमन्त्रीसमेत बने ।
यसबाहेक धनगढी उपमहानगरपालिकाको टोलीले अस्पताल आसपासका क्यान्टिनको अनुगमन गरेको थियो । अस्पताल व्यवस्थापन समितिका सदस्य डिल्लीराज भट्टले पनि अस्पतालको निरीक्षण गरेका थिए ।
एक वर्षअघि युरोपियन युनियनका राजदूत नोना डिप्रेजसहित चार सदस्य राष्ट्रका राजदूतको टोलीले पनि सेती अस्पतालको अवस्था बुझेको थियो । तत्कालीन सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले एकै सातामा दुई पटकसम्म अस्पतालको अनुगमन गरेका थिए ।
अनुगमनको संख्या धेरै भए पनि त्यसको प्रभाव अस्पतालको दैनिक सेवामा अपेक्षित रूपमा देखिन सकेको छैन । केही सेवा विस्तार भएका छन्, उपकरण थपिएका छन् । बिरामीको चापको तुलनामा ती सुधार पर्याप्त नभएको बाजुराबाट उपचारका लागि सेती प्रादेशिक अस्पतालमा पुगेकी सिता खड्काले बताइन् ।
‘अनुगमन गरेर मात्रै केही हुँदैन, सुधार हुनु पर्यो । हामीले त लाइनैलाइन लाग्नुपर्छ, धेरै दुःख छ यहाँबाट सेवा लिन,’ उनले भनिन् ।
सेती अस्पतालमा जनशक्तिको अभाव पुरानै समस्या हो । सामाजिक विकास समितिका ज्येष्ठ सदस्य रहेका बेला हिरा सार्कीको नेतृत्वमा प्रदेशसभा सदस्यहरूको टोलीले अस्पतालका विभिन्न वार्डको निरीक्षण गरेको थियो ।
त्यस क्रममा बिरामी तथा कुरुवाले चिकित्सकको अभाव, उपचारमा ढिलाइ र चिकित्सकले पर्याप्त समय नदिने जस्ता गुनासा गरेका थिए ।
त्यतिबेला अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. शेरबहादुर कमरले अस्पतालमा केही सुधार भइरहेको भए पनि धेरै काम गर्न बाँकी रहेको बताएका थिए । स्वीकृत दरबन्दीअनुसार चिकित्सक र कर्मचारी नहुँदा सेवा सञ्चालनमा समस्या रहेको उनको भनाइ थियो ।
उनका अनुसार अस्पतालको स्वीकृत क्षमता १२५ शय्या हो । तर, बिरामीको चापका कारण करिब २४० शय्या सञ्चालन गर्नुपर्ने अवस्था थियो । शय्या थपिए पनि त्यसअनुसार जनशक्ति थप हुन नसक्दा उपचार सेवा प्रभावित हुँदै आएको अस्पताल प्रशासनले बताउँदै आएको छ ।
तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाहले पहिलो पटक मुख्यमन्त्री बनेपछि सेती अस्पतालको निरीक्षण गर्दा पनि जनशक्ति र संरचनाको समस्या उठेको थियो ।
त्यतिबेला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष निर्मल शाहले चिकित्सक, स्वास्थ्यकर्मी र भौतिक संरचनाको अभावबारे मुख्यमन्त्रीलाई जानकारी गराएका थिए । शाहले जनशक्ति अभावको समस्या तीन महिनाभित्र केही हदसम्म समाधान गर्ने बताएका थिए ।
उनले प्रदेशका अस्पताल सुधारको सुरुवात सेती अस्पतालबाट गर्ने र अस्पतालको क्षमता बढाएर तीन महिनाभित्र परिवर्तन देखाउने बताएका थिए ।
शाह दुई कार्यकालमा करिब तीन वर्ष प्रदेश सरकारको नेतृत्वमा रहे पनि उनले त्यतिबेला गरेको प्रतिबद्धताअनुसार सेती अस्पतालमा अपेक्षित परिवर्तन हुन सकेन ।
तत्कालीन सामाजिक विकासमन्त्री झपटबहादुर साउँदले पनि सेतीलाई प्रदेशको रेफरल अस्पतालका रूपमा विकास गर्ने बताएका थिए । अस्पताललाई २०० शय्यामा स्तरोन्नति गर्ने, आवश्यक पूर्वाधार तथा जनशक्ति व्यवस्थापन गर्ने र त्यसअनुसार संगठन तथा व्यवस्थापन (ओएण्डएम) तयार गर्ने योजना अघि सारिएको थियो ।
स्तरोन्नतिको निर्णय भएको लामो समय बितिसक्दा पनि ओएण्डएम स्वीकृत हुन सकेको छैन । त्यसले अस्पतालमा आवश्यक जनशक्ति थप गर्न समस्या भइरहेको अस्पताल प्रशासनको भनाइ छ ।
सेती अस्पतालको इतिहास लामो छ । विक्रम संवत् १९९७ मा १५ शय्याको जिल्ला अस्पतालका रूपमा स्थापना भएको अस्पताल २०३८ सालमा २५ शय्यामा विस्तार भयो । २०४० जेठ २६ गते ५० शय्यामा स्तरोन्नति भएपछि अञ्चल अस्पतालका रूपमा सञ्चालनमा आएको थियो ।
त्यसपछि भने अस्पतालको औपचारिक स्तरोन्नति हुन सकेको छैन । अस्पताल स्थापना भएको ८६ वर्ष पुगिसक्दा पनि स्वीकृत दरबन्दीअनुसार चिकित्सक तथा स्वास्थ्यकर्मीको व्यवस्था हुन सकेको छैन । २०० शय्यामा स्तरोन्नति गर्ने चर्चा चले पनि त्यसअनुसार आवश्यक पूर्वाधार र जनशक्ति व्यवस्थापनको काम पूरा हुन सकेको छैन ।
अस्पतालमा उपचारका लागि आएकी धनगढी उपमहानगरपालिका–१४ की मनिता चौधरीले अस्पतालको समस्या लामो समयदेखि उस्तै रहेको बताइन् ।
‘वर्षौँदेखि अस्पताल स्तरोन्नति गर्ने कुरा सुनिरहेका छौँ । व्यवहारमा खासै परिवर्तन देखिएन । मुख्यमन्त्री र मन्त्रीहरू आएर अनुगमन गर्छन्, सुधार गर्ने कुरा गर्छन् । बिरामीले पाउने सेवामा त्यसको असर देखिन अझै बाँकी छ,’ उनले भनिन् ।
संघीयता कार्यान्वयनपछि सेती अस्पताल प्रदेश सरकारको मातहतमा आएको छ । त्यसयता केही नयाँ सेवा थपिएका छन् । डायलाइसिसलगायतका सेवा विस्तार गर्ने प्रयास पनि भएका छन् । बिरामीको संख्या बढ्दै जाँदा अस्पतालको भवन, उपकरण, चिकित्सक र स्वास्थ्यकर्मीको क्षमता त्यसअनुसार विस्तार हुन सकेको छैन ।