मङ्लबार, अशोज २०, २०८३

सुदूरपश्चिम–कर्णालीसहित पश्चिम नेपालबाट बाहिरियो मनसुन

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले नेपालको पश्चिमी भूभागबाट यस वर्षको मनसुन बाहिरिएको जनाएको छ । विभागका मौसमविद् सञ्जीव अधिकारीले शनिबारदेखि नेपालको पश्चिमी क्षेत्रबाट मनसुन बहिर्गमन सुरु भएको जानकारी दिएका हुन्।

विभागका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका सम्पूर्ण भूभागबाट मनसुन पूर्ण रूपमा बाहिरिएको छ। यसैगरी लुम्बिनी प्रदेशका पश्चिमका धेरैजसो भूभाग र गण्डकी प्रदेशको पश्चिम पट्टिका थोरै भूभागबाट पनि मनसुन बाहिरिएको मौसमविद् अधिकारीले बताए। देशका अन्य भूभागमा पनि मनसुन क्रमशः कमजोर हुँदै गइरहेको विभागले जनाएको छ।

मनसुन बाहिरिने प्रणालीलाई विभागले नियमित अनुगमन गरिरहेको छ। देशका अन्य क्षेत्रबाट पनि मनसुन बाहिरिने क्रम जारी रहने र पश्चिमी वायुको सम्भावित प्रभावबारे नियमित अद्यावधिक गराउँदै जाने विभागको भनाइ छ।

मनसुन बाहिरिए पनि वर्षा पूर्ण रूपमा नरोकिने भन्दै अधिकारीले सतर्कता अपनाउन आग्रह गरे। उनले भने, ‘मनसुन बहिर्गमन हुँदैमा पानी पर्नै रोकिन्छ भन्ने हुँदैन, पश्चिमी वायुको प्रभावले देशका विभिन्न भूभागमा वर्षाका गतिविधि हुन सक्छन्।’

कस्तो छ मौसम ?

विभागले आगामी २४ घण्टामा देशका कतै पनि भारी वर्षाको सम्भावना नरहेको जनाएको छ। विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार विगत २४ घण्टामा लमजुङको फलेनी केन्द्रमा मात्र भारी वर्षा मापन भएको छ भने अन्य क्षेत्रमा ठुलो पानी परेको छैन।

हाल तराईका धेरैजसो भूभागमा घाम लागिरहेको छ। पूर्वी तराईअन्तर्गत झापा आसपासका एक–दुई ठाउँमा हल्का वर्षा भइरहे पनि पहाडी र हिमाली क्षेत्रमा आंशिक बदली मात्र रहेको विभागले जनाएको छ। विगत २४ घण्टामा तराईका भूभागमा पानी परेको छैन भने लुम्बिनीलगायत केही पहाडी तथा हिमाली भूभागका सीमित स्थानमा मात्र हल्कादेखि मध्यम वर्षा भएको थियो।

शनिबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान छ। यसैगरी कोशी र मधेश प्रदेशका तराई क्षेत्रका एक–दुई ठाउँमा पनि हल्का वर्षा हुन सक्नेछ।

कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली मात्र रहने र अपराह्नपछि एक–दुई स्थानमा सामान्य वर्षा हुन सक्ने मौसमविद् अधिकारीले बताए। पश्चिमी तराईका भूभागमा भने दिउँसो पानी पर्ने सम्भावना नरहेको बताइएको छ।

शनिबार रातिदेखि मौसममा थप सुधार आउने विभागको भनाइ छ। राति कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ भने पश्चिमी क्षेत्रमा पानी पर्ने सम्भावना छैन।

देशभर कुनै मौसमी चेतावनी नभएको र सबै भूभागलाई सुरक्षित मानेर हरियो रङ दिइएको प्रस्ट पार्दै मौसमविद् अधिकारीले भने, ‘यतिबेला धान भित्र्याउने समय भएकाले एकछिनको हल्का वर्षाले पनि कृषि क्षेत्रमा प्रभाव पार्न सक्छ, त्यसैले किसानले मौसमको अद्यावधिक जानकारी लिएर मात्र काम गर्नु उपयुक्त हुन्छ।’