सोमवार, अशोज १९, २०८३

खान अयोग्य चिउरा बाँडेको आरोपपछि सहकारीको सभामा हंगामा

काठमाडौं । हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्थाको १७औँ साधारण सभामा शेयर सदस्यलाई वितरण गरिएको चिउराको म्याद गुज्रिएको भेटिएपछि विवाद उत्पन्न भएको छ।

कोटेश्वरस्थित होटल ए वान भेन्युमा आयोजित साधारण सभा सम्पन्न भएपछि सहकारीले शेयर सदस्यलाई खाद्य सामग्रीसहित उपहार वितरण गरेको थियो। उपहारमा राखिएको चिउराको म्याद १२–१३ दिनअघि नै सकिएको भेटिएपछि केही शेयर सदस्यले आपत्ति जनाउँदै सभास्थलमै होहल्ला गरेका थिए।

विवाद बढेपछि नजिकै रहेको प्रहरी प्रभागबाट प्रहरी टोली सभास्थल पुगेको थियो। म्याद गुज्रिएको चिउरा फिर्ता लिएर नयाँ चिउरा उपलब्ध गराउने सहमति भएपछि विवाद साम्य भएको बताइएको छ।

सहकारीकी सचिव किरण मोक्तानले चिउराको म्याद सकिएको आफूहरूलाई जानकारी नभएको बताइन्। उनका अनुसार सहकारीले बाहिरबाट चिउरा खरिद गरेर शेयर सदस्यलाई उपहारका रूपमा वितरण गरेको थियो।

‘हामीले शेयर सदस्यलाई चिउरा उपहार दिएका थियौँ। त्यो १२–१३ दिन म्याद नाघेको रहेछ। त्यही विषयमा सामान्य विवाद भएको हो,’ मोक्तानले भनिन्।

उनले सबै शेयर सदस्यलाई चिउरा साट्न आउन आग्रह गर्दै सन्देश पठाइसकिएको बताइन्।

यता, सहकारीका अध्यक्ष डा. केशवप्रसाद श्रेष्ठले पनि चिउराको म्याद सकिएको स्वीकार गरेका छन्। उनका अनुसार साधारण सभा सकिन लाग्दा चिउराको विषयमा विवाद भएको हो।

‘हामीले छ–सात सय प्याकेट चिउरा ल्याएका थियौँ। त्यसको म्याद सकिएको रहेछ। हामीले पनि हेरेनौँ। त्यही विषयलाई लिएर वादविवाद भएको हो,’ श्रेष्ठले भने।

उनले म्याद गुज्रिएको चिउरा फिर्ता ल्याउन भनिसकिएको बताए।

सहकारीले यसअघि साधारण सभामा शेयर सदस्यलाई नगद उपहार दिने गरेको थियो। सरकारले सहकारी संस्थालाई नगद वितरणमा रोक लगाएपछि यसपटक खाद्य सामग्री उपहारका रूपमा वितरण गरिएको सहकारीले जनाएको छ।

म्याद गुज्रिएको खाद्य सामग्री वितरण भएको घटनापछि भने सहकारीको व्यवस्थापनप्रति शेयर सदस्यहरूले प्रश्न उठाएका छन्।