सोमवार, अशोज १९, २०८३

पोर्चुगलमा ५६ हजार नेपाली, एनआरएनएले खोल्दैछ कार्यालय

काठमाडौं । पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघेको छ । पोर्चुगलमा नेपालीको संख्या उच्च भएपछि नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् पोर्चुगलको कार्यालय अक्टोबर ४ देखि राजधानी लिस्बोनमा सञ्चालनमा आउने भएको छ ।

पोर्चुगलको राष्ट्रिय तथ्यांक संस्थान (आईएनई)को तथ्यांकअनुसार सन् २०२५ मा पोर्चुगलमा नेपाली नागरिकको संख्या ५६ हजार ८६६ पुगेको छ । यो पोर्चुगलमा रहेका आप्रवासीमध्ये पाँचौँ ठूलो संख्या हो ।

नेपालीमध्ये ३८ हजार ३३५ पुरुष र १८ हजार ५३१ महिला रहेका छन् । पोर्चुगलको नागरिकता लिइसकेका नेपाली भने उक्त तथ्यांकमा समावेश छैनन् ।

पोर्चुगलमा नेपालीको संख्या पछिल्ला चार वर्षमा १३६.८ प्रतिशतले वृद्धि भएको छ ।

नेपालीको संख्या बढेसँगै पोर्चुगलमा नेपाली संघसंस्थाको संस्थागत उपस्थिति र नेपाल सरकारको कूटनीतिक सक्रियता पनि विस्तार भएको छ । नेपाल सरकारले २०८० मा पोर्चुगलमा नेपाली दूतावास स्थापना गर्न पहल गरेको थियो । सोही वर्ष मंसिरमा पोर्चुगलले लिस्बोनमा नेपाली दूतावास खोल्न सहमति दिएको थियो । त्यसपछि २०८१ मा लिस्बोनमा नेपाली दूतावास स्थापना भएको थियो ।

यसैबीच, पोर्चुगलले पनि नेपालमा आफ्नो कूटनीतिक उपस्थिति विस्तार गर्न प्रक्रिया अघि बढाएको छ । पोर्चुगलले काठमाडौंमा काउन्सिलर कार्यालय स्थापना गर्न नेपाल सरकारसँग सहमति मागेकोमा मन्त्रिपरिषद्ले २०८३ साउन २६ गते काउन्सिलर कार्यालय खोल्न सहमति दिने निर्णय गरेको थियो । त्यसपछि पोर्चुगलले काउन्सिलर कार्यालयभन्दा माथिल्लो तहको महावाणिज्य दूतावास स्थापना गर्न अनुमति मागेको छ ।

यही बढ्दो नेपाली जनसंख्यालाई मध्यनजर गर्दै एनआरएनए पोर्चुगलले लिस्बोनमा आफ्नो कार्यालय सञ्चालनमा ल्याउन लागेको हो । संघका अनुसार कार्यालयबाट नेपाली समुदायले प्रत्यक्ष रूपमा आवश्यक सूचना, सेवा, सहयोग तथा परामर्श लिन सक्नेछन् ।