सोमवार, अशोज १९, २०८३

विश्व दृष्टि दिवसको अवसरमा धनगढीमा निःशुल्क आँखा शिविर

धनगढी । विश्व दृष्टि दिवसको अवसरमा धनगढीमा निःशुल्क आँखा शिविर आयोजना हुने भएको छ । नेपाल नेत्र ज्योति संघ, गेटा आँखा अस्पतालको समन्वयमा नेपाल मानव धर्म सेवा समिति, शाखा आश्रम धनगढीले शिविर आयोजना गर्न लागेको हो ।
आयोजकका अनुसार यही २०८३ असोज २२ गते बिहीबार बिहान ९ बजेदेखि धनगढी उपमहानगरपालिका–२ स्थित मानव धर्म आश्रमको प्रांगणमा शिविर सञ्चालन हुनेछ ।
शिविरमा सर्वसाधारणका लागि निःशुल्क आँखा परीक्षण गरिनेछ । यस्तै, मोतीविन्दु भएका बिरामीको पहिचान गरी आवश्यकता अनुसार निःशुल्क आँखा शल्यक्रियाको व्यवस्था गरिने आयोजकले जनाएको छ । शिविरमा आँखा सम्बन्धी समस्या भएका बिरामीलाई निःशुल्क औषधि समेत वितरण गरिनेछ ।
त्यसैगरी, आवश्यक पर्ने सेवाग्राहीलाई सुपथ मूल्यमा चस्मा वितरण गर्ने व्यवस्था पनि गरिएको छ । आँखासम्बन्धी समस्या भएका तथा नियमित आँखा परीक्षण गर्न चाहने सबैलाई शिविरमा सहभागी हुन आयोजकले आग्रह गरेको छ ।
आयोजकका अनुसार पछिल्लो समय आँखासम्बन्धी समस्या बढ्दै गएकाले समयमै आँखा परीक्षण तथा उपचारमा पहुँच पु¥याउने उद्देश्यले शिविर आयोजना गर्न लागिएको हो ।
शिविर धनगढी–२, आदर्श चोकबाट करिब १०० मिटर अगाडि आश्रमटोल, जमुनाघारीस्थित मानव धर्म आश्रमको प्रांगणमा सञ्चालन हुनेछ । आयोजकले शिविरबाट अधिकतम सेवाग्राहीलाई लाभ लिन आग्रह गरेको छ ।