सोमवार, अशोज १९, २०८३

सुदूरपश्चिमकै पहिलो पाँचतारे होटल सञ्चालनमा

धनगढी : क्लब चौलानी लिमिटेडले धनगढीमा सुदूरपश्चिम प्रदेशकै पहिलो पाँचतारे होटलको पहिलो चरणमा सेवा सञ्चालनमा ल्याएको छ।

करिब तीन अर्ब रुपैयाँको लागतमा निर्माण भइरहेको होटलको पहिलो चरणमा ३० वटा कोठा सञ्चालनमा ल्याइएको हो। पूर्ण क्षमतामा सञ्चालनमा आएपछि होटलमा कुल १ सय १५ वटा कोठा हुने क्लब चौलानीका प्रबन्ध निर्देशक मानसिंह साउँदले बताए। होटलमा कोठाको भाडादर ६ हजारदेखि १२ हजार रुपैयाँसम्म निर्धारण गरिएको व्यवस्थापनले जनाएको छ।

अन्तर्राष्ट्रिय होटल चेन आईएचजीअन्तर्गतको होलिडे इनसँग सहकार्य गरिएको होटलको पहिलो चरणमा रेष्टुरेन्ट, फिटनेस सेन्टर, कफी सप, पार्किङलगायतका सुविधा सञ्चालनमा ल्याइएको छ।

होटलको दोस्रो चरणमा प्रेसिडेन्सियल सुइटसहित थप ८५ वटा कोठा निर्माण गरिनेछ। त्यससँगै स्विमिङ पुल, साउना, स्टीम, ज्याकुजी, स्पा, रूफटप रेष्टुरेन्ट, क्यासिनो, करिब ७ सय जना क्षमताको बैंक्वेट हल तथा अल डे डाइनिङ रेष्टुरेन्टलगायतका सुविधा थप गरिने साउँदले बताए।

हाल होटलको दोस्रो चरणअन्तर्गतका निर्माण कार्य धमाधम भइरहेको छ। दोस्रो चरणको निर्माणसँगै होटलको आन्तरिक डिजाइनमा सुदूरपश्चिमको कला, संस्कृति र मौलिक पहिचानलाई समेत समेट्ने तयारी भइरहेको साउँदले बताए।

दोस्रो चरणको काम सम्पन्न भएपछि होटल होलिडे इन आईएचजीको व्यवस्थापनमा पूर्ण क्षमतामा सञ्चालनमा आउने क्लब चौलानीले जनाएको छ। अन्तर्राष्ट्रियस्तरको होटल सञ्चालनमा आएपछि सुदूरपश्चिमको पर्यटन सम्भावनालाई थप उजागर गर्न सहयोग पुग्ने सञ्चालकको विश्वास छ।

पाँचतारे होटलको पूर्वाधार र अन्तर्राष्ट्रिय होटल ब्रान्डको व्यवस्थापनले प्रदेशमा आउने स्वदेशी तथा विदेशी पर्यटकका लागि स्तरीय आतिथ्य सेवाको आधार तयार हुने अपेक्षा गरिएको छ।