सोमवार, अशोज १९, २०८३

बन्द सत्रको एजेन्डा टुंग्याउन कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं।  नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आजदेखि औपचारिक निर्वाचन प्रक्रिया सुरु हुँदैछ। आइतबार काठमाडौँको खुलामञ्चमा महाधिवेशनको भव्य उद्घाटन समारोह सम्पन्न भएसँगै कांग्रेस बन्द सत्र र निर्वाचन प्रक्रियातर्फ अघि बढेको हो।

बन्द सत्रअघि एजेन्डा तय गर्नका लागि खुलामञ्चमा नै केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ। चियानास्ता र खाजापछि केन्द्रीय समितिको बैठकमा सहभागी हुन कांग्रेसका नेताहरू खुलामञ्च पुग्ने क्रम जारी छ।

कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार महाधिवेशनको बन्द सत्रमा पेस गरिने विभिन्न प्रतिवेदनहरूलाई केन्द्रीय कार्यसमितिले पारित गरेपछि मात्र बन्द सत्र औपचारिक रूपमा सुरु हुनेछ।

“पार्टीले विभिन्न समितिलाई दिएको जिम्मेवारीअनुसार उहाँहरूले प्रस्ताव पेस गर्नुहुन्छ। सोही आधारमा बैठकले एजेन्डा अनुमोदन गरेपछि बन्द सत्र सुरु हुनेछ,” प्रवक्ता चालिसेले भने।

बन्द सत्रमा सभापति गगनकुमार थापाको राजनीतिक प्रतिवेदन, महामन्त्रीको विधान संशोधन प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन पेस गर्ने कार्यतालिका रहेको छ।

बन्द सत्रमा पार्टीका राजनीतिक तथा समसामयिक विषयहरूमा गहन छलफल हुनेछ। बन्द सत्र सम्पन्न भएलगत्तै महाधिवेशनको मुख्य कार्यभारका रूपमा रहेको नयाँ केन्द्रीय कार्यसमिति चयनको निर्वाचन प्रक्रिया अघि बढाइनेछ।

साँझ ५ बजे मतदाता नामावली प्रकाशन

महाधिवेशन निर्वाचन समितिले आज साँझ ५ बजे महाधिवेशन प्रतिनिधिको प्रारम्भिक मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका बनाएको छ। नामावली प्रकाशन भएपछि दाबी विरोध तथा छानबिनको प्रक्रिया सुरु हुनेछ। प्राप्त दाबी विरोधमाथि आवश्यक जाँचबुझ गरेपछि अन्तिम मतदाता नामावली सार्वजनिक गरिनेछ।

निर्वाचन समितिले महाधिवेशन प्रतिनिधिलाई निर्वाचनमा सहज रूपमा सहभागी गराउन आवश्यक सम्पूर्ण तयारी तीव्र पारेको छ।

मंगलबार उम्मेदवारी मनोनयन

निर्वाचन कार्यतालिकाअनुसार मङ्गलबार उम्मेदवारी मनोनयन दर्ताको प्रक्रिया अघि बढ्नेछ। कांग्रेसको नयाँ केन्द्रीय कार्यसमितिका लागि सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा केन्द्रीय सदस्य पदहरूमा उम्मेदवारी दर्ता हुनेछ।

उम्मेदवारी मनोनयनसँगै कांग्रेसको नयाँ नेतृत्वका लागि हुने प्रतिस्पर्धाको चित्र थप स्पष्ट हुने अपेक्षा गरिएको छ। सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्यका आकांक्षी नेताहरूले यसअघि नै आन्तरिक छलफल तथा समूहगत भेटघाटलाई तीव्र बनाउँदै आएका छन्।