काठमाडौं । नामिबियाको मरुभूमिमा मृत बाछुलाई सुँडमा बोकेर घण्टौँसम्म हिँडिरहेको पोथी हात्तीको तस्बिरले सन् २०२६ को ‘वन्यजन्तु फोटोग्राफर अफ द इयर’ प्रतियोगिताको सर्वोच्च पुरस्कार जितेको छ । फेडेरिको भेरोनेसीले खिचेको उक्त तस्बिरले हात्तीको व्यवहार, भावनात्मक जीवन र मरुभूमिमा उनीहरूले भोगिरहेका चुनौतीलाई उजागर गरेको छ ।
भेरोनेसीले सन् २०२५ को सेप्टेम्बरमा नामिबियाको हुआब नदी आसपास हात्तीको बथानको गतिविधि अवलोकन गर्ने क्रममा उक्त दृश्य क्यामेरामा कैद गरेका थिए । मृत बाछुलाई सुँडले समातेर हिँडिरहेको पोथी हात्तीले बीचबीचमा त्यसलाई भुइँमा राखेर खानेकुरा खाने र पानी पिउने गरे पनि पुनः उठाएर यात्रा जारी राख्ने गरेको थियो ।सुरुमा उक्त दृश्यलाई आफ्नै सन्तान गुमाएकी आमाको शोकसँग जोडेर हेरिएको थियो । तर, पछि गरिएको अनुसन्धानले ती पोथी हात्ती मृत बाछुकी आमा नभएको देखाएको बीबीसीले जनाएको छ ।नामिबियाका मरुभूमि हात्तीको संरक्षणमा सक्रिय संस्था एलिफ्यान्ट ह्युमन रिलेसन एड (ईएचआरए) की संरक्षण कार्यक्रम निर्देशक क्रिस्टिन विन्टरका अनुसार १४ वर्षीया ती पोथी हात्तीले दुई वर्षअघि आफ्नै बच्चा गुमाएकी थिइन् । त्यसपछि उनले विभिन्न स्थानमा अन्य हात्तीका मृत बच्चा बोकेर हिँडेको अभिलेख गरिएको छ । यस क्षेत्रमा यस्तो व्यवहार पहिलोपटक अभिलेख गरिएको विन्टरको भनाइ छ ।
नामिबियाका मरुभूमि हात्तीको सङ्ख्या पछिल्ला दुई दशकदेखि घटिरहेको संरक्षणकर्मीहरूले बताएका छन् । लामो समयसम्म पर्ने खडेरी, पानीको अभाव र मानिससँग बढ्दो द्वन्द्व उनीहरूको अस्तित्वका प्रमुख चुनौती बनेका छन् ।

संरक्षण कार्यक्रम निर्देशक विन्टरका अनुसार हात्ती र स्थानीय बासिन्दाबीचको द्वन्द्व मुख्यतः पानीका स्रोतलाई लिएर हुने गरेको छ । हात्तीले पानी भण्डारण गर्ने ट्याङ्की भत्काउने, पाइप तान्ने र पानी तान्ने पम्पमा क्षति पुर्याउने गरेपछि स्थानीय समुदायमा उनीहरूप्रति असन्तुष्टि बढ्ने गरेको छ ।
मरुभूमिमा हात्तीको संरक्षणसँगै नवजात बाछाको उच्च मृत्युदर पनि चिन्ताको विषय बनेको छ । विन्टरका अनुसार सन् २०१४ देखि २०२२ सम्म अभिलेख गरिएका १६ बाछामध्ये दुईवटा मात्रै जीवित रहेका थिए । मृत जन्मिएका बाछा सामान्य स्वस्थ बाछुको तुलनामा निकै साना हुने गरेको उनले बताएकी छन् ।
बाछा समयअगावै जन्मिनुमा पोथी हात्तीको कमजोर शारीरिक अवस्था र मानिससँगको द्वन्द्वबाट उत्पन्न हुने दीर्घकालीन तनावको भूमिका हुन सक्ने संरक्षणकर्मीहरूको अनुमान छ । यद्यपि, यसबारे थप वैज्ञानिक प्रमाण आवश्यक छ ।
सम्भावित कारण पत्ता लगाउन अनुसन्धानकर्ताहरूले हात्तीको गोबरका नमुना सङ्कलन गरी वातावरणीय प्रदूषण र तनावसँग सम्बन्धित हर्मोनको अध्ययन गरिरहेका छन् ।
नामिबियाका मरुभूमि हात्ती कुनै छुट्टै प्रजाति होइनन् । उनीहरू सुख्खा वातावरणमा अनुकूलित भएका अफ्रिकी हात्ती हुन्, जो पानी र आहारको खोजीमा लामो दूरीसम्म यात्रा गर्छन् । जलवायुजन्य चुनौती र मानव–वन्यजन्तु द्वन्द्वले उनीहरूको अस्तित्वलाई थप जोखिममा पारेको छ ।
लन्डनस्थित प्राकृतिक इतिहास सङ्ग्रहालयले आयोजना गर्ने ‘वन्यजन्तु फोटोग्राफर अफ द इयर’ प्रतियोगितामा सर्वोच्च पुरस्कार जितेको भेरोनेसीको तस्बिरले वन्यजन्तुको दुर्लभ व्यवहारलाई विश्वसामु प्रस्तुत गरेको छ । साथै, यसले हात्तीको भावनात्मक जीवन बुझ्ने वैज्ञानिक प्रयास र तीव्र चुनौतीबीच वन्यजन्तु संरक्षणको आवश्यकता पनि पुनः उजागर गरेको छ ।