शुक्रबार, कार्तिक ७, २०८३

साउदीमा ड्रोन आक्रमणमा नेपालीको मृत्यु, उद्धार र सुरक्षाको व्यवस्था मिलाउन कांग्रेसको माग

काठमाडौं। साउदी अरबको सेवा  आयल फिल्डमा भएको ड्रोन आक्रमणका क्रममा खसेको भग्नावशेष लागेर एक नेपाली नागरिकको मृत्यु भएको घटनाप्रति नेपाली कांग्रेसले गहिरो दुःख व्यक्त गरेको छ।

नेपाली कांग्रेसले मुख्यसचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमार्फत मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको हो। विज्ञप्तिमा यस दुःखद घडीमा पीडित परिवारलाई धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामनासमेत गरिएको छ।

कांग्रेसले निर्दोष नागरिकको ज्यान जाने गरी हुने यस्ता हिंसात्मक घटनाको कडा शब्दमा निन्दा गर्दै नेपाल प्रत्यक्ष संलग्न नरहेको वैदेशिक द्वन्द्वका कारण नेपाली नागरिकले ज्यान गुमाउनुपर्ने अवस्था आउनु अत्यन्तै दुःखद र चिन्ताजनक रहेको जनाएको छ।

घटनाप्रति दुःख व्यक्त गर्दै कांग्रेस सभापति गगनकुमार थापाले साउदी अरबमा कार्यरत नेपाली नागरिकहरूको जीउधनको सुरक्षाका लागि अविलम्ब र थप प्रभावकारी पहल गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

उनले सम्भावित जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाउन तथा आवश्यक परेमा नेपाली नागरिकहरूलाई सुरक्षित रूपमा उद्धार गर्ने व्यवस्था मिलाउनसमेत सरकारसँग जोडदार आग्रह गरेका छन्।