शुक्रबार, कार्तिक ७, २०८३

सूचनाको हकका लागि राष्ट्रिय महासंघका जिल्ला अधिवेशन कार्तिक मसान्तभित्र, प्रदेश अधिवेशन मंसिर १५ सम्म

धनगढी — सूचनाको हकका लागि राष्ट्रिय महासंघले सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाको जिल्ला अधिवेशन कार्तिक मसान्तभित्र र प्रदेश अधिवेशन मंसिर १५ गतेसम्म सम्पन्न गर्ने निर्णय गरेको छ ।
सूचनाको हकका लागि राष्ट्रिय महासंघका केन्द्रीय अध्यक्ष उमीद बागचन्दको प्रमुख आतिथ्यतामा शुक्रबार धनगढीमा सम्पन्न सूचनाको हकका अभियन्ताहरूको भेलाले यस्तो निर्णय गरेको हो ।
भेलाले सूचनाको हकको प्रभावकारी कार्यान्वयन, नागरिकको सूचनामा पहुँच विस्तार तथा सार्वजनिक निकायलाई थप जवाफदेही बनाउन अभियानलाई तीव्रता दिने निर्णयसमेत गरेको छ ।
त्यसैगरी स्थानीय तह तथा प्रदेश सरकार मातहतका मन्त्रालयले सञ्चालन गरिरहेका विकास निर्माणका गतिविधि, योजनाको कार्यान्वयन अवस्था र जनचासोका विषयमा सूचना माग गर्ने निर्णय गरेको छ । सार्वजनिक निकायबाट हुने कामकारबाहीलाई पारदर्शी बनाउँदै नागरिकको सूचनाको हक सुनिश्चित गर्न अभियान सञ्चालन गरिने भेलाले जनाएको छ ।
भेलालाई सम्बोधन गर्दै महासंघका केन्द्रीय अध्यक्ष उमीद बागचन्दले सूचनाको हक सुशासन, पारदर्शिता र जवाफदेहिता कायम गर्ने महत्त्वपूर्ण माध्यम भएको बताए । उनले सार्वजनिक निकायका कामकारबाहीबारे नागरिकलाई सुसूचित गराउन तथा अनियमितता र बेथितिको निगरानी गर्न अभियन्ताहरू सक्रिय हुनुपर्नेमा जोड दिए ।
महासंघका सुदूरपश्चिम प्रदेश अध्यक्ष पुष्पराज जोशीको अध्यक्षतामा सम्पन्न भेलाको सहजीकरण प्रदेश महासचिव निराजन परियारले गरेका थिए ।