धनगढी: वैदेशिक रोजगारीका लागि विदेशिने युवाहरूको लर्को लागिरहेका बेला कैलालीको कैलारी गाउँपालिका–७, छटकपुर बसन्ताका पञ्चराम चौधरी भने आफ्नै गाउँमा माछापालन गरेर सफल कृषकका रूपमा स्थापित भएका छन्। एक दशकदेखि माछापालनमा सक्रिय उनले छ बिघा क्षेत्रफलमा फैलिएका पोखरीमा ६० हजार माछाका भुरा हुर्काइरहेका छन्।
गाउँमै उपलब्ध जग्गा र माछापालनको सम्भावना देखेर यो व्यवसाय सुरु गरेका चौधरीका लागि माछापालन अहिले परिवारको मुख्य आयआर्जनको माध्यम बनेको छ। स्थानीयस्तरमा माछाको माग र व्यावसायिक सम्भावना देखेपछि उनले यसै क्षेत्रमा समय, श्रम र लगानी गर्दै आएका छन्।
चौधरीले आफ्ना पोखरीमा रहु, नैनी, बिगहेड, ग्रास कार्प, कमन कार्प र जिल्बरलगायत जातका करिब ६० हजार माछाका भुरा हुर्काइरहेका छन्। उनले उत्पादन गरेका माछा साढे दुई किलोसम्मका हुने गरेका छन्। स्थानीय गाउँघरदेखि कैलालीका विभिन्न बजारसम्म उनको उत्पादनको माग हुने गरेको छ।
परिवारका सदस्यसँग मिलेर व्यवसाय सञ्चालन गरिरहेका चौधरीले सरकारी अनुदानसमेत प्राप्त गर्दै आएका छन्। सरकारी सहयोगले व्यवसाय विस्तार गर्न र थप उत्साहका साथ काम गर्न प्रेरणा मिलेको उनको भनाइ छ। उनले सुरुमा दुईपटक तालिम लिएर माछापालनका प्राविधिक पक्षबारे ज्ञान हासिल गरेका थिए। त्यही अनुभव र सीपलाई व्यवहारमा उतार्दै व्यवसाय विस्तार गरेका उनी अहिले अन्य कृषकलाई समेत माछापालनसम्बन्धी तालिम दिँदै आएका छन्।
यद्यपि, माछापालनमा चुनौती पनि कम छैनन्। कैलारी क्षेत्रमा बर्खायाममा आउने बाढीले पोखरी र माछामा क्षति पुर्याउने जोखिम रहन्छ। त्यसमाथि माछालाई खुवाइने दानाको मूल्य महँगो हुँदा लागत बढ्ने गरेको चौधरी बताउँछन्।
माछापालनलाई थप व्यवस्थित र विस्तार गर्न सरकारले माछाको दानामा सहुलियत दिनुपर्ने उनको माग छ। दानाको मूल्यमा सहुलियत उपलब्ध भए उत्पादन बढाउन र व्यवसायमा थप लगानी गर्न सहज हुने उनको विश्वास छ।
विदेशमा रोजगारी खोज्नुभन्दा आफ्नै गाउँमा सम्भावना खोजेर कृषि उद्यममा लागेका चौधरी स्थानीय स्रोत, सीप र मेहनतको उपयोगबाट गाउँमै बसेर पनि व्यावसायिक सफलता हासिल गर्न सकिने उदाहरण बनेका छन्। आगामी दिनमा पनि माछापालनलाई निरन्तरता दिँदै व्यवसायलाई थप विस्तार गर्ने उनको योजना छ।