भारत, पलिया। भारतको उत्तर प्रदेशस्थित पलियाको नाम परिवर्तन गरी ‘श्री महाराणा प्रताप नगर’ वा ‘श्री गुरु गोविन्द सिंह नगर’ राख्न माग गरिएको छ। भारतीय जनता पार्टी (भाजपा) का वरिष्ठ नेता रवि गुप्ताले उत्तर प्रदेश सरकारका क्याबिनेट मन्त्री तथा लखीमपुर जिल्लाका प्रभारी मन्त्री नितिन अग्रवाललाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेका हुन्।
भाजपा नेता गुप्ताले लखनउस्थित मन्त्री अग्रवालको निवासमा भेट गरी पलियाको नाम परिवर्तन गर्न मागसहितको ज्ञापनपत्र बुझाएका हुन्।
ज्ञापनपत्रमा पलिया वीर महाराणा प्रताप र गुरु गोविन्द सिंहका अनुयायीहरूको भूमि भएको उल्लेख गर्दै यस क्षेत्रलाई ‘मिनी पञ्जाब’ का रूपमा समेत चिनिने जनाइएको छ। साथै, पलियालाई महाराणा प्रतापका वंशजहरूको भूमि भनेर पनि चिनिने भएकाले यहाँको ऐतिहासिक तथा सांस्कृतिक पहिचानलाई सम्मान गर्न नाम परिवर्तन आवश्यक रहेको माग गरिएको छ।
विश्वप्रसिद्ध दुधवा टाइगर रिजर्भसमेत रहेको पलियामा हरेक वर्ष देश तथा विदेशबाट लाखौँ पर्यटक आउने गरेको उल्लेख गर्दै नाम परिवर्तनले क्षेत्रको पहिचान र गौरव बढाउने ज्ञापनपत्रमा जनाइएको छ।
पलिया विधानसभा क्षेत्रका जनताको भावनाअनुसार पलियाको नाम परिवर्तन गरी ‘श्री महाराणा प्रताप नगर’ वा ‘श्री गुरु गोविन्द सिंह नगर’ राख्नुपर्ने नेता गुप्ताको माग छ।
ज्ञापनपत्र बुझ्दै मन्त्री नितिन अग्रवालले यस विषयमा शीघ्र पहल गर्ने आश्वासन दिएको जनाइएको छ। उनले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग छलफल गरी पलियाको नाम परिवर्तनका लागि आवश्यक प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको भाजपा नेता गुप्ताले बताएका छन्।
हालसम्म पलियाको नाम परिवर्तनबारे औपचारिक सरकारी निर्णय भएको विवरणमा उल्लेख छैन।
