सोमवार, असार १५, २०८३

धनगढी–१६ घसिटामा सम्पन्न ‘जय नेपाल कप’ पेनाल्टी शुटआउट: वडा नं. ३ च्याम्पियन

धनगढी –

धनगढी उप–महानगरपालिका वडा नं. १६ घसिटामा आयोजित जय नेपाल कप वडा स्तरीय पेनल्टी शुटआउट प्रतियोगिता २०८२ सफलतापूर्वक सम्पन्न भएको छ। प्रतियोगिता कांग्रेस धनगढी–१६ को समन्वय र कांग्रेस क्षेत्र नं. ५, कैलालीको आयोजनामा सम्पन्न गरिएको हो।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै धनगढी वडा नं. ३ विजेता बन्न सफल भयो भने धनगढी वडा नं. १२ उपविजेता रह्यो।

विजयी टोलीले ३० केजीको बोका, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेताले २० केजीको बोका, ट्रफी, मेडल र प्रमाणपत्र हात पारेका छन्।

उद्घाटन समारोहमा बोल्दै नेपाली कांग्रेस कैलालीका सभापति नारायण दत्त भट्टले नेतृत्वलाई कमजोर बनाउन र पार्टीभित्र भ्रम फैलाउन खोजिएको दाबी गर्दै पार्टीकै दस्तावेज जलेको अवस्थाले सदस्यता प्रमाणीकरणमा समस्या परेको बताए।


भट्टले भने, “जेन्जी आन्दोलनपछि पार्टीका सबै कागजात जलेका छन्। क्रियाशील सदस्य को हुन्, कसरी प्रमाणित गर्ने भन्ने विषय गम्भीर छ। जिम्मेवारीमा बसेर गैरजिम्मेवार टिप्पणी गर्नु गलत हो।”

कार्यक्रममा कैलाली जिल्ला सचिव नृप बहादुर सुनार, क्षेत्रीय सभापति भिम पडाल, जिल्लाका १९ वटै वडाका सभापति, विभिन्न तहका नेता–कार्यकर्ता, पत्रकारलगायतको उल्लेखनीय सहभागिता रहेको थियो।