धनगढी– ‘रक्तदान जीवनदान हो, रक्तदान महादान हो’ यही मूल नारासँगै वैतडी समाज धनगढी कैलालीले फागुन ९ गते बिहान ८ बजे पदमा हेल्थ कलेज धनगढीको प्राङ्गणमा आफ्नो १७ औं ‘रक्तदान महोत्सव’ आयोजना गर्ने भएको छ ।
स्थानीय समुदायका लागि यो कार्यक्रम परम्परागत रूपमा स्वास्थ्य सेवा र सामाजिक उत्तरदायित्वको प्रतीकको रुपमा स्थापित भइसकेको छ । वैतडी समाज कैलालीका अध्यक्ष माया प्रकाश भट्टले जानकारी दिँदै भने, ‘अघिल्ला १६ संस्करणमा एक हजार पाँच सय २६ यूनिट रगत संकलन भइसकेको छ । यसले धेरै जीवन उद्धार गर्न मद्दत गरेको छ । हाम्रो उद्देश्य मानिसहरूलाई नियमित रक्तदाता बन्न प्रेरित गर्नु हो ।’
कार्यक्रममा कैलाली उद्योग वाणिज्य संघले सहकार्य गरिरहेको छ भने रेडक्रस सोसाइटी कैलालीले प्राविधिक सहयोग प्रदान गर्ने छ । रक्तदान उपसमिति संयोजक वीर बहादुर महराका अनुसार, ‘हाम्रो उद्देश्य नियमित रक्तदानलाई सामाजिक चेतना बनाउनु हो । जीवन बचाउने यो सानो प्रयासले ठूलो प्रभाव पार्दछ ।’
रक्तदान महोत्सवमा स्थानीय विद्यार्थी, शिक्षक, स्वास्थ्यकर्मी, व्यापारी, र समाजका अन्य सक्रिय सदस्यहरूले सहभागिता जनाउने छन । कार्यक्रममा विभिन्न उमेर समूहका व्यक्तिहरूले रगतदान गरेर मानव सेवा र समाजप्रति आफ्नो प्रतिबद्धता व्यक्त गर्न समाजले अनुरोध गरेको छ ।
विगत वर्षहरूमा यो रक्तदान महोत्सवले न केवल रक्त संकलनमा योगदान पु¥याएको छ, तर स्वास्थ्य सचेतना र सामाजिक जिम्मेवारीबारे जनचेतना फैलाउन पनि महत्त्वपूर्ण भूमिका खेल्ने छ । भट्टले भने, ‘रगतदान केवल एक दान होइन, यो जीवन बचाउने अवसर पनि हो । हामी सबैले नियमित रूपमा रगतदान गर्नुपर्छ ।’
वैतडी समाज कैलालीले विगतका वर्षझै यस वर्ष पनि रक्तदान महोत्सवलाई निरन्तरता दिने उनको भनाई छ ।