काठमाडौं । फिफा विश्वकपको उपाधिका निम्ति आज राति साबिक विजेता अर्जेन्टिनाले स्पेनको सामना गर्दै छ । अमेरिकाको न्यु जर्सी रंगशालामा नेपाली समयानुसार राति १२ः४५ बजे फाइनल खेल सुरु हुनेछ ।
अर्जेन्टिना उपाधि रक्षा अभियानमा छ । स्पेन सन् २०१० पछि च्याम्पियन बन्ने लक्ष्यमा छ ।
सन् १९३० बाट सुरु भएको विश्वकपमा २२ फाइनल सम्पन्न भइसकेका छन् । हालसम्म १३ राष्ट्रले फाइनल खेल्दा आठ टोली च्याम्पियन बनेका छन् ।
युरोप र दक्षिण अमेरिकी राष्ट्रले मात्र विश्वकपको उपाधि उचालेका छन् । युरोपबाट पाँच टोलीले १२ र दक्षिण अमेरिकाका तीन टिमले १० विश्वकप उपाधि जितेका छन् ।
ब्राजिल सर्वाधिक पाँचपटक विश्व च्याम्पियन बनेको छ । जर्मनी र इटालीले चार/चार, अर्जेन्टिनाले तीनपल्ट विश्वकप उपाधि जितेका छन् । फ्रान्स र उरुग्वेले दुई/दुई तथा इंग्ल्यान्ड र स्पेनले एक/एकचोटि विश्वकप ट्रफी उचालेका छन् ।
सन् १९३० देखि २०२२ सम्मका फाइनलले धेरै अनौठा तथ्य दिएका छन् । तीमध्ये केही तथ्य यहाँ प्रस्तुत गरिएको छ ।
८८ सेकेन्डमै गोल
विश्वकप फाइनलमा सबैभन्दा छिटो गोल गर्ने कीर्तिमान नेदरल्यान्ड्सका जोहान निस्केन्सका नाममा छ ।
उनले सन् १९७४ को फाइनलमा पश्चिम जर्मनीविरुद्ध ८८ सेकेन्डमा पेनाल्टीमार्फत गोल गरेका थिए । त्यो पेनाल्टीसम्म पुग्न नेदरल्यान्ड्सले विपक्षीले बल छुनुअघि नै लगातार १६ पास खेलेको थियो ।
पश्चिम जर्मनी फाइनलमा क्लिनसिट राख्दै उपाधि जित्ने पहिलो टोली
सन् १९९० मा पश्चिम जर्मनीले अर्जेन्टिनालाई १–० ले हराउँदै पहिलोपटक गोल नखाई विश्वकप फाइनल जितेको थियो । त्यसअघिका विजेताले फाइनलमा गोल व्यहोरेका थिए ।
पश्चिम जर्मनीका बोडो इल्ग्नर २३ वर्षमै विश्वकप फाइनल खेल्ने सबैभन्दा कान्छा गोलकिपर बनेका थिए ।
दुई गोलले पछि परेर उपाधि जितेको पश्चिम जर्मनी
सन् १९५४ को विश्वकप फाइनलमा हंगेरीले खेलको पहिलो आठ मिनेटमै २–० को अग्रता लिएको थियो । तर, पश्चिम जर्मनीले सानदार पुनरागमन गर्दै ३–२ ले जित निकाल्यो । विश्वकप फाइनलमा दुई गोलले पछि परेर पनि पुनरागमन गर्दै उपाधि जित्ने हालसम्मकै एक्लो टोली हो, पश्चिम जर्मनी ।
तीन विश्वकप फाइनल खेल्ने दोस्रो खेलाडी बन्दै मेसी
अर्जेन्टिनाका कप्तान लियोनल मेसी तीन विश्वकप फाइनल खेल्ने दोस्रो खेलाडी बन्दै छन् । उनले यसअघि २०१४, २०२२ को फाइनल खेलेका थिए ।
यो कीर्तिमान हालसम्म ब्राजिलका खेलाडी काफुका नाममा मात्र छ । उनले १९९४, १९९८ र २००२ गरी लगातार तीन विश्वकप फाइनल खेलेका थिए । मेसीले भने लगातार फाइनल खेल्न लागेका होइनन् । २०१८ को विश्वकपमा अर्जेन्टिना फाइनलमा पुगेको थिएन ।

फाइनलका सर्वाधिक गोलकर्ता एम्बाप्पे
फ्रान्सका केलियन एम्बाप्पे विश्वकप फाइनलमा सर्वाधिक गोल गर्ने खेलाडी हुन् । उनले फाइनलमा चार गोल गरेका छन् । एम्बाप्पेले २०१८ मा एक र २०२२ को फाइनलमा ह्याट्रिक गरेका थिए ।
एम्बाप्पेले सन् २०२२ को विश्वकप फाइनलमा ११८औँ मिनेटमा ह्याट्रिक पूरा गरेका थिए । विश्वकप फाइनल इतिहासकै सबैभन्दा ढिलो समयमा गरिएको गोल पनि त्यही हो ।
एम्बाप्पे विश्वकपको फाइनलमा ह्याट्रिक गर्ने दोस्रो खेलाडी पनि हुन् । उनले भन्दा पहिला सन् १९६६ को फाइनलमा इंग्ल्यान्डका जियोफ हर्सटले पश्चिम जर्मनीविरुद्ध ह्याट्रिक गरेका थिए ।
दुई फाइनलमा गोल गर्ने पाँच खेलाडी मात्र
हालसम्म भाभा, पेले, पाउल ब्राइटनर, जिनेदिन जिदान र केलियन एम्बाप्पेले मात्र दुई फरक विश्वकपकाृ फाइनलमा गोल गरेका छन् । यसपालि फाइनलमा गोल गर्न सके मेसी पनि यो सूचीमा थपिनेछन् ।
लुइस मोन्टी दुई देशबाट विश्वकप फाइनल खेल्ने एक्लो खेलाडी
लुइस मोन्टी विश्वकप इतिहासमा दुई फरक राष्ट्रबाट फाइनल खेल्ने एक मात्र खेलाडी हुन् । उनले सन् १९३० मा अर्जेन्टिना र १९३४ मा इटालीबाट विश्वकप फाइनल खेलेका थिए ।

अवे जर्सीमा विश्वकप जित्ने दुई टोली
हालसम्म दुई टोलीले मात्र अवे जर्सीमा विश्वकपको ट्रफी उचालेका छन् । ती हुन्, इंग्ल्यान्ड र स्पेन ।
इंग्ल्यान्डले सन् १९६६ मा आफ्नो अवे रातो जर्सीमा पश्चिम जर्मनीलाई हराउँदै उपाधि जितेको थियो । स्पेनले २०१० मा नेदरल्यान्ड्सलाई हराउँदा आफ्नो दोस्रो रोजाइको गाढा निलो जर्सी लगाएको थियो ।

जर्मनी सबैभन्दा बढी विश्वकप फाइनल खेल्ने टोली
विश्वकपमा सबैभन्दा बढी फाइनल खेल्ने टोली हो, जर्मनी । जर्मनीले हालसम्म आठ विश्वकप फाइनल खेलेको छ ।
सन् १९५४, १९७४, १९९० र २०१४ को च्याम्पियन जर्मनी १९६६, १९८२, १९८६ र २००२ मा उपविजेता बनेको थियो ।
जर्मनीपछि ब्राजिलले सातपटक विश्वकप फाइनल खेलेको छ । अर्जेन्टिना पनि सातौँपल्ट फाइनलमा पुगेको छ ।

पेले विश्वकप फाइनलमा गोल गर्ने सबैभन्दा कान्छा खेलाडी
ब्राजिलका पेले विश्वकप फाइनलमा गोल गर्ने सबैभन्दा कान्छा खेलाडी हुन् । सन् १९५८ को विश्वकपमा स्वीडेनविरुद्ध दुई गोल गर्दा उनको उमेर १७ वर्ष २४९ दिन थियो ।
स्वीडेनका निल लिडहोम विश्वकप फाइनलमा गोल गर्ने सबभन्दा पाका खेलाडी हुन् । सन् १९५८ कै विश्वकप फाइनलमा उनले ३५ वर्ष २६४ दिनको उमेरमा ब्राजिलविरुद्ध गोल गरेका थिए ।
स्पेनविरुद्ध गोल गर्ने सके मेसी विश्वकप फाइनलमा गोल गर्ने पाका खेलाडी बन्नेछन् । मेसी हाल ३९ वर्षका छन् ।

दुई विश्वकप फाइनल आयोजना गर्ने एज्टेका एक मात्र रंगशाला
मेक्सिकोको एज्टेका दुई विश्वकप फाइनल खेलाइएको एक मात्र रंगशाला हो । १९७० र १९८६ को विश्वकप फाइनल खेलाइएको थियो ।
सन् १९७० मा ब्राजिलले इटाली र १९८६ मा अर्जेन्टिनाले पश्चिम जर्मनीलाई हराउँदै च्याम्पियन बनेका थिए । एजेन्सीको सहयोगमा