एजेन्सी । विश्वकप फुटबल सकिए पनि यसका पराकम्पनहरु अझै साम्य भइसकेका छैनन् । फाइनलमा स्पेनसँगको पराजयपछि अर्जेन्टिनामा दुख र आक्रोशको लहर चलिरहेको छ ।
फाइनलमा हारपछि अर्जेन्टिनी खेलाडीहरुले देखाएको रौद्ररुपलाई लिएर विश्वभर आलोचना भयो । तर अर्जेन्टिनाका राष्ट्रपति हाभियर मिलेइ सामाजिक सञ्जालमा आलोचकहरुप्रति आक्रामक रूपमा प्रस्तुत भइरहेका छन् ।
अर्जेन्टिनालाई भविष्यका विश्वकपहरू खेल्न प्रतिबन्ध लगाउनुपर्ने मागसहितको एक निवेदनमा २ करोड ३० लाखभन्दा बढीले हस्ताक्षर गरेको विषयले उनलाई उत्तेजित तुल्याएको हो ।
राष्ट्रपति मिलेइले अन्य देशहरूले अर्जेन्टिनाप्रति डाह गरिरहेको टिप्पणी गरेका छन् । न्यू जर्सीको मेटलाइफ स्टेडियममा भएको फाइनल खेलको अन्तिम सिट्ठी बजेपछि देखिएको लज्जास्पद दृश्यका कारण अर्जेन्टिना कडा आलोचनाको घेरामा परेको छ । अतिरिक्त समयमा फेरान टोरेसले गोल गर्दै स्पेनलाई जित दिलाए पनि खेलपछिको झगडाले स्पेनको सफलतालाई ओझेलमा पारिदियो ।
मिडफिल्डर लिआन्द्रो परेडेसले स्पेनका एरिक गार्सियालाई भुइँमा पछारेर कुटपिट गरेको र गाभीसँग हातपात गरेको देखिएको थियो । यस्तै, नाहुएल मोलिनाले स्पेनिस मिडफिल्डर रोड्रिमाथि मुक्का प्रहार गरेर मुठभेड सुरु गरेका थिए । फिफाले यी घटनाहरूको अनुसन्धान गरिरहेको छ, जसका कारण खेलाडीहरूमाथि निलम्बन र जरिवाना हुन सक्छ ।
खेलको क्रममा अर्जेन्टिनाले खराब प्रदर्शन गरेको र अनुशासनहीन व्यवहार देखाएको आरोप छ । खेल अवधिभर मात्र दुई पटक प्रहार गरेको अर्जेन्टिनाका एन्जो फर्नान्डेजले रातो कार्ड पाएका थिए । हालसम्म विश्वका १७० देशका २ करोड ३३ लाख १६ हजारभन्दा बढी मानिसले अर्जेन्टिनालाई आगामी विश्वकपबाट हटाउनुपर्ने माग गर्दै अनलाइन हस्ताक्षर गरिसकेका छन् ।
यसैबीच, दक्षिणपन्थी नेता मिलेइले इन्स्टाग्राममार्फत आफ्ना खेलाडीहरूको बचाउ गर्दै एकपछि अर्को पोष्ट गरेका छन् ।
५५ वर्षीय राष्ट्रपतिले लेखेका छन्, ‘के तपाईंका शत्रुहरू छन् ? यसको अर्थ तपाईंले कुनै समय केही कुराको रक्षा गर्नुभएको थियो । हामी अर्जेन्टिनाको रक्षा गर्छौं ।’
उनले अर्को एक पोष्टमा भनेका छन्, ‘अर्जेन्टिनाको समस्या यो हो कि हामी सबैको नजरमा छौँ, हामीलाई कसैले नजरअन्दाज गर्न सक्दैन । मानिसहरू हामीसँग डाह गर्छन् किनकि हामी लगभग सबै कुरामा उत्कृष्ट छौँ ।’
उनले एउटा एआई निर्मित तस्बिरसमेत सेयर गरेका छन्, जसमा उनले आफ्नो सुट च्यातेर भित्र अर्जेन्टिनाको जर्सी देखाएका छन् ।
यसअघि सेमिफाइनलमा इङ्गल्याण्डलाई हराएपछि अर्जेन्टिनी खेलाडीहरूले ‘फल्कल्याण्ड टापु अर्जेन्टिनाको हो’ भन्ने विवादास्पद ब्यानर प्रदर्शन गरेका थिए, जसले कूटनीतिक विवाद निम्त्याएको थियो ।
टोलीका मुख्य खेलाडी परेडेसले खेलपछिको आफ्नो व्यवहारका लागि माफी माग्न अस्वीकार गरेका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हामीले देशका लागि सबैथोक दियौँ, यो इतिहासकै उत्कृष्ट अर्जेन्टिनी टोलीको हिस्सा हुन पाउनु मेरो लागि गर्वको कुरा हो ।’
फिफाले अहिले यस घटनाको विस्तृत अध्ययन गर्न एक अनुशासनिक अभियोजक नियुक्त गरेको छ । संलग्न खेलाडीहरू लामो समयका लागि निलम्बनमा पर्न सक्ने सम्भावना छ भने अर्जेन्टिनी फुटबल संघलाई आफ्ना खेलाडी र कर्मचारीलाई नियन्त्रणमा राख्न नसकेको भन्दै भारी जरिवाना तिराइने सम्भावना छ ।