बिहिबार, साउन १४, २०८३

देशको सुरक्षा अवस्थाबारे आज निर्णायक बैठक

काठमाडौँः प्रधानमन्त्रीको अध्यक्षतामा आज बिहान ११ः३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक बस्ने भएको छ।

प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार बैठकमा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्यसचिव, प्रधानसेनापति तथा रक्षासचिवको सहभागिता रहनेछ।

बैठकमा सुनसरी घटनालगायत देशको समग्र सुरक्षा अवस्था, शान्ति–सुरक्षा व्यवस्थापन तथा समसामयिक सुरक्षा चुनौतीबारे छलफल हुने जनाइएको छ।

राष्ट्रिय सुरक्षा परिषद्ले देशको सुरक्षा नीतिसम्बन्धी विषयमा सरकारलाई आवश्यक सुझाव तथा समन्वय गर्ने जिम्मेवारी निर्वाह गर्दै आएको छ।