काठमाडौँ । विद्युतीय गाडीहरू धेरै दुर्घटनामा पर्न थालेपछि ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरण गर्न त्यस्ता सवारीका चालकलाई जिम्मेवार बनाउनेबारे छलफल थालेको छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयले ईभी गाडी चलाउन छुट्टै ट्रायल परीक्षा दिएर मात्र लाइसेन्स दिन प्रस्ताव गरेको छ । सवारी चालक अनुमति पत्रमा ईभी सम्बन्धी छुट्टै क्याटागोरी थप्नेबारे गृहकार्य गर्नुपर्ने प्रस्ताव गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए । उनले भने, ‘यातायात व्यवस्था विभागसँग यसबारे छलफल भइरहेको छ ।’
ईभी गाडीसँग चालकहरू अभ्यस्त नहुँदा दुर्घटना बढेको निष्कर्षसहित ट्राफिक प्रहरीले छुट्टै ट्रायल लिने व्यवस्था गर्न प्रस्ताव गरेको हो । बुधवार ट्राफिक प्रहरीले ईभी आयातकर्ता कम्पनीहरू र डिलरका प्राविधिकहरूसँग दुर्घटना न्यूनीकरणबारे छलफल गरेको थियो । अटो क्षेत्रका दुई छाता संस्थाहरू नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) र नेपाल अटोमोबाइल इम्पोर्टस् म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) का प्रतिनिधिहरू र डिलरका प्राविधिकहरूसँग छलफल गरिएको एसपी सुवेदीले जानकारी दिए ।
ट्राफिक प्रहरीले ईभी गाडी बेच्नुअघि चालकलाई अनुशिक्षण प्रदान गरेर यान्त्रिक जानकारी गराउन ईभी आयातकर्ताहरूलाई आग्रह गरेको छ । काठमाडौँ उपत्यकामा मात्र ४२ हजार भन्दा बढी ईभी चारपांग्रे ईभी बिक्री भैसकेको छ । ईभीबाट हुने दुर्घटना न्यूनीकरण गर्न ‘स्पिड गभर्नर’ राख्नुपर्ने विकल्पबारे छलफल भएको एसपी सुवेदीले बताए । कम्पनीबाट नै स्पिड गभर्नर जडान भएमा तोकिएका स्पिडभन्दा माथि गाडी जाँदैन ।
दुर्घटना न्यूनीकरण गर्न गाडी विक्रेता कम्पनीको भूमिकाबारे छलफल गरिएको एसपी सुवेदीले जानकारी दिए ।