धनगढी– सुदूरपश्चिम प्रदेश केरा उत्पादनका हिसाबले आत्मनिर्भर मानिन्छ । वार्षिक ७२ हजार मेट्रिक टनभन्दा बढी केरा उत्पादन हुने प्रदेशमा किसानले भने उत्पादनको उचित मूल्य पाएका छैनन् । अर्कोतर्फ उपभोक्ताले त्यही केरा दोब्बर–तेब्बर मूल्यमा खरिद गर्न बाध्य छन् । उत्पादक र उपभोक्ताबीचको मूल्य अन्तरले कृषि बजार व्यवस्थापनमाथि गम्भीर प्रश्न उठाएको छ ।
कैलाली र कञ्चनपुर सुदूरपश्चिमका सबैभन्दा बढी केरा उत्पादन हुने जिल्ला हुन् । सयौं किसानले वर्षभरि केरा उत्पादन गरिरहेका छन् । तर उत्पादन बढे पनि आम्दानी भने बढ्न सकेको छैन ।
किसानहरूका अनुसार मल, औषधि, मजदुरी, सिँचाइ र ढुवानीको लागत प्रत्येक वर्ष बढिरहेको छ । तर बजारमा भने उनीहरूले उत्पादनको उचित मूल्य पाउन सकेका छैनन् ।
कैलाली केरा उत्पादक संघ अध्यक्ष दीपेन्द्र थारु भन्छन – ‘केरा उत्पादन गर्न लागत बढिरहेको छ । न कृषकले उत्पादन बराबरको मूल्य पाइरहेका छन्, न उपभोक्ताले महँगीबाट राहत पाएका छन् । बीचमा विचौलियाले धेरै नाफा लिइरहेका छन् ।’
बाइट…
अहिले किसानले बगानबाट प्रति दर्जन काँचो केरा न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम ६५ रुपैयाँसम्ममा बिक्री गरिरहेका छन् । तर यही केरा बजार पुग्दा उपभोक्ताले प्रति दर्जन १५० देखि २०० रुपैयाँसम्म तिर्नुपरेको छ ।
उत्पादक र उपभोक्ताबीच मूल्यमा रहेको ठूलो अन्तरको मुख्य कारण बजार व्यवस्थापन कमजोर हुनु र विचौलियाको प्रभाव बढ्नु रहेको किसानहरूको आरोप छ ।
केरा कृषक लक्षीराम आचार्य भन्छन– ‘हामीले महिनौं मेहनत गरेर उत्पादन गर्छौं । व्यापारीले भनेको मूल्यमा बेच्नुपर्छ । धेरै दिन राख्न पनि सकिँदैन, त्यसैले बाध्य भएर सस्तोमै दिनुपर्छ ।’
बाइट…
उता उपभोक्ताको गुनासो पनि उस्तै छ । किसानले सस्तोमा बिक्री गरिरहेको केरा बजारमा आइपुग्दा मूल्य किन तीन गुणासम्म बढ्छ भन्ने प्रश्न उपभोक्ताले उठाइरहेका छन् ।
एक उपभोक्ता भन्छन ‘यदि किसानले ५० रुपैयाँमा बेचेका छन् भने हामीले १८० रुपैयाँ किन तिर्नुपर्छ ? सरकारले बजार अनुगमन गर्नुपर्छ ।’ मूल्यमा हुने असन्तुलन कम गर्न केरा उत्पादक संघ कैलालीले बगान बिक्रीको न्यूनतम र अधिकतम मूल्यसमेत निर्धारण गर्दै आएको छ । भदौदेखि असोजसम्म प्रति दर्जन ५५ देखि ६५ रुपैयाँ, कार्तिकदेखि मंसिरसम्म ४५ देखि ५० रुपैयाँ तथा पुसदेखि माघसम्म ३० देखि ३५ रुपैयाँ मूल्य तोकिएको छ । तर किसानहरू भन्छन– संघले मूल्य निर्धारण गरे पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन ।
दीपेन्द्र थारु भन्छन – ‘हामीले मूल्यसूची बनाएका छौं । तर कार्यान्वयनका लागि सरकारी सहयोग र बजार अनुगमन आवश्यक छ ।’ कृषि गणना २०८०÷८१ अनुसार सुदूरपश्चिममा करिब २ हजार ४ हेक्टरमा केरा खेती हुँदै आएको छ । प्रदेशमा वार्षिक ७२ हजार १४४ मेट्रिक टन केरा उत्पादन हुन्छ । कैलालीमा ९५० हेक्टर र कञ्चनपुरमा ६१० हेक्टर क्षेत्रफलमा व्यावसायिक खेती भइरहेको छ । यी दुई जिल्लामा मात्रै करिब ७८० किसान केरा व्यवसायमा संलग्न छन् ।
प्रदेश केरा उत्पादनमा आत्मनिर्भर भए पनि बाहिरी जिल्लाबाट आउने केराको आपूर्तिमा भने रोक लागेको छैन । स्थानीय किसानहरूका अनुसार पर्याप्त उत्पादन हुँदाहुँदै बाहिरी केरा बजारमा भित्रिँदा आफ्ना उत्पादनले उचित मूल्य पाउन नसकेको अवस्था छ । स्थानीय उत्पादनलाई प्राथमिकता दिने नीति आवश्यक छ। नत्र किसान निरुत्साहित हुन्छन् । किसानलाई उत्पादनमा मात्र होइन, बजारसँग पनि जोड्नुपर्ने बताउँछन् । सहकारीमार्फत प्रत्यक्ष बिक्री, शीत भण्डारण, संकलन केन्द्र, नियमित बजार अनुगमन र किसान–उपभोक्ता प्रत्यक्ष सम्पर्कको व्यवस्था गर्न सके मूल्य अन्तर कम गर्न सकिने उनीहरूको सुझाव छ ।
उत्पादन बढेको छ । प्रदेश आत्मनिर्भर पनि बनेको छ । तर किसानले लागत उठाउन संघर्ष गर्नुपरेको छ भने उपभोक्ताले महँगो मूल्य तिरिरहेका छन् । यस्तो अवस्थामा बजार व्यवस्थापन प्रभावकारी बनाउने, विचौलियाको प्रभाव घटाउने र किसानलाई उचित मूल्य सुनिश्चित गर्ने नीति लागू नभएसम्म किसान र उपभोक्ता दुवैको समस्या समाधान हुने देखिँदैन ।