बिहिबार, साउन १४, २०८३

धार्मिक स्थलमा चर्को आवाज बजाउनेमाथि कडाइ

जिल्ला प्रशासन कार्यालय मोरङले धार्मिक स्थलहरूमा चर्को आवाजमा लाउड स्पीकर, माइक वा साउण्ड बक्स प्रयोगमा रोक लगाएको छ ।

सिडिओ कार्यालयले सूचना जारी गर्दै जिल्लाका सबै मठमन्दिर, मस्जिद, चर्च, गुम्बालगायत धार्मिक स्थललाई आफ्नो क्रियाकलाप सञ्चालन गर्दा उच्च ध्वनीको प्रयोग नगर्न निर्देशन दिएको हो । चर्को आवाजका कारण बालबालिका, वृद्धवृद्धा र बिरामीमा मानसिक दीर्घरोग जोखिम बढेको प्रशासनले जनाएको छ ।

यो सन्दर्भमा प्रशासनले सर्वोच्च अदालतको २०८० पुस १६ गतेको फैसला र नेपाल राजपत्रमा प्रकाशित ध्वनी मापदण्डको स्मरण पनि गराएको छ । सरकारले तोकेको मापदण्डअनुसार ग्रामीण क्षेत्रमा दिउँसो ४५ डेसिबल र राति ४० डेसिबलसम्म आवाज बजाउन पाइन्छ ।

त्यस्तै, शहरी आवास क्षेत्रमा दिउँसो ५५ डेसिबल र राति ५० डेसिबलसम्म बजाउन पाइनेछ । प्रशासनले उक्त मापदण्डको उल्लंघन नहुनेगरी लाउड स्पीकर, माइक, साउण्ड बक्सलगायतको प्रयोग गर्न आग्रह गरेको छ ।

सूचनामा उल्लेख छ, ‘मोरङस्थित सबै मठमन्दिर, मस्जिद, चर्च, गुम्बालगायतले आआफ्ना धार्मिक क्रियाकलापहरु सञ्चालन गर्दा गराउँदा सम्मानित सर्वोच्च अदालतको फैसला तथा ध्वनी प्रदूषण मापदण्ड उल्लंघन नहुनेगरी गर्नु गराउनुहुन जानकारी गराइएको छ ।’

त्यसविपरीत गरिएमा कानूनबमोजिम कारबाही गरिने प्रशासनको चेतावनी छ ।