अत्तरिया, श्रावण १३। नेपाल मानव धर्म सेवा समिति, सेती क्षेत्र अत्तरियाको आयोजनामा व्यास पूर्णिमाको पावन अवसरमा गुरुपूजा महोत्सव–२०८३ श्रद्धा, भक्ति र उत्साहका साथ सम्पन्न भएको छ।
बुधबार नेपाल मानव धर्म सेवा समिति, सेती क्षेत्रकी प्रमुख महात्मा क्षमा वाईजीको सभापतित्वमा आयोजित महोत्सवमा सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री विक्रम सिंह धामी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका सदस्य लिलाधर वासकोटा सहित विभिन्न क्षेत्रका व्यक्तित्व, भक्तजन, विद्यार्थी, सुरक्षाकर्मी, पत्रकार तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा गुरु–शिष्य परम्पराको महत्व, मानव धर्मका आदर्श तथा नैतिक जीवनशैलीबारे प्रवचन, भजन–कीर्तन र धार्मिक अनुष्ठान सञ्चालन गरिएको थियो। सहभागीहरूले गुरुप्रतिको श्रद्धा, सम्मान र समर्पण भाव व्यक्त गर्दै समाजमा नैतिकता, सद्भाव र आध्यात्मिक चेतना अभिवृद्धि गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने धारणा व्यक्त गरेका थिए।
आयोजक नेपाल मानव धर्म सेवा समिति, सेती क्षेत्र अत्तरियाले व्यास पूर्णिमाका अवसरमा प्रत्येक वर्ष गुरुपूजा महोत्सव आयोजना गर्दै आएको जनाएको छ। समितिका अनुसार यस्ता धार्मिक तथा आध्यात्मिक कार्यक्रमले समाजमा मानवता, अनुशासन, सहिष्णुता र आपसी सद्भाव प्रवर्द्धन गर्न महत्वपूर्ण योगदान पुर्याउँदै आएका छन्।