जनकपुरधाम। सुनसरीमा भएको हिंसात्मक घटनाको विरोध तथा मृतकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्न ‘हिन्दु सम्राट नेपाल’ले बिहीबार आह्वान गरेको बन्दका कारण जनकपुरधामको जनजीवन प्रभावित भएको छ।बन्दका कारण यहाँका मुख्य बजार क्षेत्र, पसल तथा व्यापारिक प्रतिष्ठानहरू बिहानैदेखि ठप्प रहेका छन्। हिन्दु सम्राट नेपालले यसअघि नै जनकपुरधाम उद्योग वाणिज्य संघ र स्थानीय व्यवसायीहरूलाई बजार बन्द गरी ऐक्यबद्धता जनाउन आग्रह गरेको थियो।
सोही अनुरूप जनकपुरधामका प्रमुख व्यापारिक केन्द्रहरू जनक चोक, शिव चोक, कदम चोक, रामानन्द चोक र भानु चोक लगायतका क्षेत्रमा अधिकांश पसलहरू बन्द रहेका छन्। केही खुलेका पसलहरू समेत उक्त संगठनका युवाहरूले बजार गस्ती गरी बन्द गराएका थिए।
आयोजक संस्थाले सुनसरी घटनामा ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारलाई अविलम्ब न्याय दिलाउन सरकारसँग माग गरेको छ। सो घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्नसमेत दबाब दिइएको छ।
बन्दका क्रममा हुन सक्ने सम्भावित उच्छृङ्खल गतिविधि र सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले सुरक्षा व्यवस्था चुस्त बनाएको छ। जनकपुरधामका विभिन्न संवेदनशील स्थानहरूमा ठुलो सङ्ख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको छ।