वाशिङटन डीसी । अमेरिकी रेड क्रसले अमेरिकामा रगतको मौज्दात अत्यन्त न्यून भएपछि ‘रक्त आपूर्ति संकट’ घोषणा गरेको छ । संस्थाको १५० वर्षको इतिहासमा यस्तो अवस्था दोस्रो पटक आएको हो । अमेरिकी रेड क्रसकी चिकित्सक कोर्टनी लरेन्सका अनुसार डढेलो, अत्यधिक गर्मी र अन्य आपत्कालीन अवस्थाले रक्तदानमा कमी ल्याएपछि संकट उत्पन्न भएको हो ।
गत महिना मात्र रगतको मौज्दात २५ प्रतिशतले घटेको बताइएको छ । यो संकट गर्मीयाममा देखिएको हो, जुन समयमा सडक दुर्घटना तथा बाहिरी गतिविधि बढ्ने भएकाले अस्पतालहरूमा रगतको आवश्यकता पनि सामान्यभन्दा धेरै हुन्छ । अमेरिकी रेड क्रसले हाल वर्षको यही समयमा हुने सामान्य वितरणभन्दा करिब ३ हजार ५०० युनिट बढी रगत अस्पतालहरूलाई उपलब्ध गराइरहेको जनाएको छ । संस्थाका अनुसार अहिले रगतको मौज्दात अत्यन्त न्यून स्तरमा पुगेको छ ।
रेड क्रसका अनुसार अहिले सबै रक्त समूहको आवश्यकता रहेको छ, तर इ पोजिटिभ समूहको रगतको माग विशेष रूपमा बढी छ । केही अस्पतालले नियमित शल्यक्रिया (रुटिन अपरेशन)मा असर पर्न सक्ने चिन्ता व्यक्त गरेको र आवश्यक परे आपत्कालीन बिरामीलाई अन्य ट्रमा केन्द्रमा पठाउने सम्भावनासमेत विचार गरिरहेको डाक्टर लरेन्सले जानकारी दिइन् ।
किन घट्यो रक्तदान?
रेड क्रसका अनुसार यस वर्षको गर्मीयाममा अत्यधिक तापक्रमका कारण धेरै मानिस रक्तदान केन्द्र जान इच्छुक छैनन् । केही स्थानमा रक्तदान कार्यक्रम सञ्चालन गर्न सुरक्षित र सहज वातावरणसमेत उपलब्ध गराउन कठिन भएको छ । यसका साथै देशभर फैलिएका डढेलो तथा साइक्लोस्पोरियासिसको प्रकोपले पनि रक्तदान कार्यक्रम प्रभावित भएको संस्थाले जनाएको छ । रक्तदान गरिएको रगत ४२ दिनभित्र प्रयोग गर्नुपर्ने हुन्छ, किनभने त्यसपछि रक्तकोषहरू क्रमशः नष्ट हुन थाल्छन् । त्यसैले रगत लामो समयसम्म भण्डारण गरेर राख्न सकिँदैन ।
यसैबीच, क्यानडामा रगतको अभाव देखिएको छ । क्यानेडियन ब्लड सर्भिसेजका अनुसार जुन महिनाको सुरुदेखि देशमा रगतको मौज्दात करिब २० प्रतिशतले घटेको छ । संस्थाले पछिल्ला छ हप्तादेखि हरेक साता १ हजार ५०० देखि २ हजार ५०० वटा रक्तदान अपोइन्टमेन्ट कम भएको जनाएको छ । यसका कारण हालको मौज्दात प्रयोग गरेर बिरामीको आवश्यकता पूरा गर्नुपरेको छ ।