बिहिबार, साउन १४, २०८३

संसदमा कप्तानगञ्ज घटनाको मुद्दा, सरकारसँग जवाफ माग

 काठमाडौँः प्रतिनिधिसभाको आजको बैठकमा पनि सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिका सम्बन्धमा स्पष्ट गरिनुपर्ने माग भएको छ।

बैठक सुरु हुनासाथ यसअघिजस्तै विपक्षी दलका सांसद उठेपछि सभामुख डोलप्रसाद अर्यालले नेपाली कांग्रेसका प्रमुख सचेतक वासना थापालाई समय दिए।

संसद्मा प्रमुख विपक्षी दलका सचेतक थापाले प्रधानमन्त्रीले सीमा सम्बन्धमा यसअघि व्यक्त गरेकाे भनाइबारे थप स्पष्ट गर्नुपर्ने माग पूरा नभएकाले त्यसलाई निरन्तरता दिँदै विरोध गर्न बाध्य हुनुपरेको बताए।

उनले हालै सुनसरीको कप्तानगञ्जमा स्थानीय युवक ओमप्रकाश मेहताको निधन भएको घटनाको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरे।

सरकारको पहिलो कर्तव्य नागरिकको जीउधनको रक्षासहित सुरक्षा व्यवस्था सुनिश्चित गर्नुपर्ने रहेकाले त्यसतर्फ विशेष ध्यान दिन अनुरोध गरे।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद पद्माकुमारी अर्यालले प्रधानमन्त्रीले सीमाका विषयमा दुई महिनाअघि संसद्मा बोलेको विषय सच्याउन अनुरोध गरे। सुकुमवासी समस्याको समाधान छिटो गर्न, रासायनिक मलको व्यवस्था गर्न, मलको खोजीमा भारततर्फ गएका चार जना नेपाली २५–२६ दिनदेखि हराएका र अहिले उनीहरू भारतीय जेलमा थुनामा रहेको भन्ने विषयलाई गम्भीर रुपमा लिई सकुसल नेपाल ल्याउन सरकारको ध्यानाकर्षण गरे।

यही साउन १० गते सुनसरी जिल्लामा भएको घटनामा दङ्गा नियन्त्रण गर्न राज्य असफल भएको आरोप लगाए। उनले उत्तेजना, आवेगले ठीक ठाउँमा नपुग्ने भएकाले संयमता अपनाउन र कप्तानगञ्ज घटनाको जिम्मा लिन सरकारसँग अनुरोध गरे। ‘सबै बाँचौँ, सबैलाई बचाऔँ’ को अवधारणामा काम गर्नुपर्ने भनाइ सांसद अर्यालको थियो। यसैगरी, उहाँले देशभर वर्षाका कारण हुनसक्ने क्षति न्यूनीकरण तथा रोकथामका लागि  सरकारको ध्यानाकर्षण गराए।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद गोपाल शर्माले सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउनुपर्ने माग पटकपटक गर्दा पनि पूरा नभएको भनी दुःख व्यक्त गरे। सुनसरीको कप्तानगञ्जमा भएको घटनाका विषयमा राज्य संवेदनशील नभएको आरोप लगाए।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद खुश्बु ओलीले सुनसरीको घटना समाधान गर्न र सद्भाव कायम गर्ने सम्बन्धमा सबै दलले स्पष्ट रुपमा बोल्नुपर्ने बताए। सो घटनाको दिगो समाधान राजनीतिक रुपमा खोज्नुपर्ने बताउँदै उनले सरकारका तर्फबाट थप पहलको आवश्यकता औँलाए। सांसद ओलीले समाजिक सद्भाव कायम गर्न सबै पक्षलाई जिम्मेवार भएर प्रस्तुत हुन आग्रह गरे।

श्रम संस्कृति पार्टीका सांसद आरेन राईले दुई महिनाअघि सिमानाका सम्बन्धमा प्रधानमन्त्रीले दिएका अभिव्यक्तिका विषय स्पष्ट नभएकोे र संसद्को अभिलेखबाट सो कुरा नहटेको बताए।

उनले सुनसरीलगायत क्षेत्रमा देखिएको घटना र अशान्तिको विषय समाधानका लागि सरकारले नै नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताउँदै समाधानका लागि सरकारले नै पहलकदमी लिनुपर्ने धारणा व्यक्त गरे। सांसद राईले  यस्ता समस्याको समाधान गर्न बल प्रयोग गर्न नहुने धारणा व्यक्त गरे।