धनगढी, ९ भदौ / कैलालीको गोदावरी नगरपालिका–९ धनचौरीमा शारीरिक तथा मानसिक रूपमा अपाङ्ग महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवकविरुद्ध प्रहरीमा जाहेरी परेको छ।
इलाका प्रहरी कार्यालय मालाखेती, अत्तरियामा दिएको जाहेरीअनुसार गोदावरी नगरपालिका–९ धनचौरीका करिब २५ वर्षीय कृष्णराज भट्टराईविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसुरमा कारबाहीको माग गरिएको हो।
घर फर्किएर आउँदा युवती रोइरहेको आवाज सुनेपछि कोठाभित्र प्रवेश गर्दा भट्टराईलाई युवतीमाथि करणी गरिरहेको अवस्थामा भेटेको जाहेरीमा दाबी गरिएको छ।
जाहेरीअनुसार घटनास्थलमा पुगेपछि युवतीकी भाउजुले भट्टराईलाई रोक्न खोज्दा उनले आफ्नो हात समाती भुइँमा लडाएको र आफूले लगाएको कुर्तासमेत च्यातेको आरोप लगाएकी छन्। त्यसपछि भट्टराई घटनास्थलबाट फरार भएको जाहेरीमा उल्लेख छ।
पीडितको स्वास्थ्य परीक्षण गराउन, घटनाबारे गाउँ सर्जमिन गरी प्रमाण संकलन गर्न तथा कानुनबमोजिम क्षतिपूर्ति उपलब्ध गराउन पिडित परिवारले अनुरोध गरेका छन्।
यता इलाका प्रहरी कार्यालय मालाखेतीले मौखिक जानकारी पाउँदा नै भट्टराईलाई पक्राउ गरी सकेको छ, भने थप अनुसन्धान मुद्दा दर्ता भए पछि गर्ने तयारी रहेको छ।
पिडितले अहिले मुद्दा दर्ता गरि सकेका छन्। पिडित परिवारले कुनै पनि राजनीतिक चलखेल बिना आफुहरुले न्याय पाउनु पर्ने माग गरेका समेत गरेका छन्।