नवलपुर। भोटेकोशी नदीमा आएको बाढीले बगाएर ल्याएका ८१ शव नवलपुरमा भेटिएको छ। नदी तटीय क्षेत्रमा सुरक्षा संयन्त्रले खोजी गर्ने क्रममा ८१ वटा शव फेला पारेको हो । केही शवहरू सग्लो भए पनि अधिकांश केही अंगहरुमात्रै फेला परेका छन्।
सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाका अनुसार, अहिले पनि खोजी निरन्तर भएकोले सङ्ख्या बढ्न सक्ने छ । ‘सुरक्षा टोली खोलामा छन् । उनीहरुले खोजिरहेका छन्,’ उनले भने, ‘कुनै पनि शवको पहिचान भएको छैन। धेरैजसो सग्लो अवस्थामा छैन।’
फेला परेका शवहरूमध्ये २ महिला, ३ पुरुष, १ बालक र १ बालिका रहेका छन् । ६३ जनाको कुनै पनि पहिचान हुन सकेको छैन । ११ वटा भने मानिसको शरीरका विभिन्न अङ्ग मात्र फेला परेका छन् । फेला परेकामध्ये ५५ शव नवलपुरकै अस्पतालहरूमा व्यवस्थापन गरिएको छ।
२६ वटा अझै नदी किनारमा छन्। अरू पनि खोज्ने क्रम जारी रहेको रानाले जानकारी दिए।