पोखरा । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि पोखरा महानगरपालिकाले ४५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । विपदको समयमा प्रभावित नागरिकको उद्धार, राहत र उपचारमा सहयोग पुग्ने उद्देश्यले रकम पठाउने निर्णय गरिएको मेयर धनराज आचार्यले जानकारी दिए ।
उनका अनुसार, प्रभावित क्षेत्रमा उद्धार तथा उपचारका लागि पोखरा महानगरपालिकाले नगर प्रहरी र स्वास्थ्यकर्मीको टोली परिचालन गरेको छ । विपद् व्यवस्थापनसम्बन्धी तालिम प्राप्त नगर प्रहरी, आवश्यक उद्धार सामग्री, प्राथमिक उपचारका उपकरणसहितको एम्बुलेन्स र स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रतर्फ पठाइएको आचार्यले बताए ।
प्रभावित नागरिकको उद्धार र उपचारमा सहयोग पुर्याउने उद्देश्यले खटाइएको यस टोलीको सम्पूर्ण खर्च महानगरपालिकाले नै ब्यहोर्ने उनको भनाई छ । महानगरका जनप्रतिनिधि, कर्मचारी र महानगरको कोषबाट सहयोग पठाउने निर्णय भएको हो । पोखरा १३ का वडाध्यक्ष किरण बरालले यसपछिका सबै अवधीको सरकारी सुविधा विपद प्रभावितका लागि सहयोग गर्ने घोषणा गरिसकेका छन् ।
यस्तै, पोखरा २६ का अध्यक्ष नरेन्द्र थापा (नरेन) ले २ महिनाको सुविधा सहयोग गर्ने घोषणा गरे । अन्य जनप्रतिनिधिले १ महिना, कर्मचारीको पनि केही दिनको तलव सहयोग स्वरुप प्रदान गर्ने निर्णय भएको हो ।