बुटवल। रसुवामा आएको महाप्रलयकारी बाढीपहिरोबाट ठूलो जनधनको क्षति भएपछि नवलपरासी पश्चिमको बर्दघाट नगरपालिकाले विपद् उद्धार कोषमा ३० लाख रुपैयाँभन्दा बढी सहयोग गर्ने निर्णय गरेको छ।
नगरपालिकाले नगरभित्र कार्यरत शिक्षक, कर्मचारी तथा जनप्रतिनिधिको तीन दिन बराबरको तलब तथा पारिश्रमिक सहयोग गर्ने निर्णय गरेको हो।
नगरप्रमुख शम्भुलाल श्रेष्ठले विपद्को कठिन समयमा प्रभावित नागरिकको उद्धार तथा राहतका लागि स्थानीय सरकारसँगै जनप्रतिनिधि, कर्मचारी र शिक्षकबाट समेत सहयोग आवश्यक रहेकाले उक्त निर्णय गरिएको बताए।
प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलका अनुसार नगरभित्रका शिक्षकको तीन दिन बराबरको आधारभूत तलबबाट करिब १८ लाख रुपैयाँ, जनप्रतिनिधि तथा कर्मचारीको तीन दिन बराबरको तलबबाट करिब ९ लाख रुपैयाँ र नगरस्तरीय विपद् व्यवस्थापन कोषबाट ३ लाख रुपैयाँ गरी ३० लाख रुपैयाँभन्दा बढी रकम विपद् उद्धार कोषमा जम्मा गरिनेछ।
नगरपालिकाले बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम उपलब्ध गराउने निर्णय गरेको जनाएको छ।