शुक्रबार, भदौ १२, २०८३

भोटेकोशी पीडितलाई निसर्ग हस्पिटलको ११ लाख ११ हजार १११ सहयोग

धनगढी । भोटेकोशी बाढीपीडितको राहत तथा पुनस्र्थापनाका लागि निसर्ग हस्पिटलले ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ।

बाढीबाट ठूलो जनधनको क्षति भई कैयौँ परिवार पीडामा रहेका बेला हस्पिटलले आफ्नो वार्षिक तीज कार्यक्रमसमेत नगर्ने निर्णय गर्दै उक्त कार्यक्रमका लागि छुट्याइएको रकम राहतका लागि समर्पण गरेको हो।

निसर्ग हस्पिटलका कर्मचारी, स्टाफ नर्स, चिकित्सक तथा शेयर सदस्यहरूबाट कम्तीमा एक दिन बराबरकोे तलब-सुविधा सहयोग गर्ने निर्णयसँगै तीज कार्यक्रमका लागि छुट्याइएको रकमसमेत जोडेर कुल ११ लाख ११ हजार १ सय ११ रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि सहयोग गरिएको हस्पिटलले जनाएको छ।

हस्पिटलका अध्यक्ष तीर्थराज पन्तले विपत्तिको समयमा आफ्नो खुसीभन्दा पीडित परिवारको आवश्यकता महत्वपूर्ण भएको बताए।

‘चाडपर्व हाम्रो खुसीका अवसर हुन्। तर अहिले धेरै परिवार दुःख र अभावमा छन्। यस्तो अवस्थामा आफ्नो खुसीको एउटा हिस्सा पीडितका लागि समर्पण गर्नु हाम्रो मानवीय दायित्व हो,’ अध्यक्ष पन्तले भने।

‘हामीले गरेको सहयोगले बाढीले पु¥याएको सम्पूर्ण क्षतिको पूर्ति गर्न नसक्ला। तर पीडामा रहेका परिवारलाई हामी उनीहरूको साथमा छौँ भन्ने भरोसा दिन सक्छौँ,’ पन्तले भने।

निसर्ग हस्पिटलका कर्मचारी, स्टाफ नर्स, चिकित्सक तथा संस्थाको तर्फबाट संकलित ११ लाख ११ हजार १ सय ११ रुपैयाँ नेपाल सरकारको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ अन्तर्गत ग्लोबल आइएमई बैंकमा रहेको आधिकारिक बैंक खाता नं. ८८००४०१०१०००००५७८८ मा जम्मा गरिएको हस्पिटलले जनाएको छ।

चाडपर्वको खुसीलाई केही समयका लागि थाती राख्दै विपत्तिमा परेका परिवारको साथमा उभिनु आफ्नो सामाजिक उत्तरदायित्व भएको हस्पिटलको भनाइ छ।

निसर्ग हस्पिटलले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न मानवीय तथा सामाजिक सहयोगका कार्यक्रम सञ्चालन गर्दै आएको छ। हस्पिटलका अनुसार समाजप्रतिको जिम्मेवारीलाई केवल स्वास्थ्य सेवा प्रदान गर्ने कार्यमा सीमित नराखी विपत्तिको समयमा सहयोग, सामाजिक अभियानमा सहभागिता तथा समुदायको आवश्यकता अनुसार विभिन्न सहयोगका कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ।