काठमाडौँ । सानिमा बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको २०८३ भदौ ११ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरूलाई नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
बैंकले सार्वजनिक गरेको विवरण अनुसार साधारण सेयरधनीहरूका लागि कर सहित १० प्रतिशत नगद लाभांश प्रस्ताव गरिएको छ। यस अन्तर्गत बैंकले १ अर्ब ३५ करोड ८१ लाख ५२ हजार ५४१ रुपैयाँ ४३ पैसा बराबरको रकम लाभांशका रूपमा वितरण गर्नेछ।
त्यसैगरी, बैंकले अग्राधिकार सेयरधनीहरूका लागि पनि कर सहित ८.२५ प्रतिशतले हुन आउने ५ करोड २४ लाख ३८ हजार ३५६ रुपैयाँ १६ पैसा नगद लाभांश दिने निर्णय गरेको छ।
अग्राधिकार सेयरको लाभांश भने असार मसान्त २०८३ सम्मको अवधिका लागि समानुपातिक रूपमा प्रदान गरिने बैंकले जनाएको छ। सञ्चालक समितिले प्रस्ताव गरेको यो लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र सेयरधनीहरूलाई वितरण गरिनेछ। हाल सानिमा बैंकको साधारण सेयर पुँजी १३ अर्ब ५८ करोड १५ लाख २५ हजार ४१४ रुपैयाँ ३३ पैसा रहेको छ भने अग्राधिकार सेयर पुँजी २ अर्ब रुपैयाँ रहेको छ।
सानिमा बैंकले हाल देशका सातै प्रदेशमा रहेका १३४ वटा कार्यालय र १२७ वटा एटिएम सञ्जालमार्फत आफ्ना ग्राहकहरूलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ। बैंकका प्रमुख निक्षेप अधिकृत हेमराज सञ्ज्यालद्वारा जारी गरिएको विज्ञप्तिमा उक्त लाभांश सम्बन्धी जानकारी दिइएको हो।