शुक्रबार, भदौ १२, २०८३

बाढीपीडितको उद्धार र राहतमा कोशी सरकारको ३ करोड सहयोग

विराटनगर । भदौ १० गते आएको भीषण लेदोसहितको रसुवाको बाढीबाट प्रभावित क्षेत्रहरूमा तत्काल खोजी, उद्धार तथा राहत कार्यका लागि कोशी प्रदेश सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड जम्मा गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को बिहिबार बसेको बैठकले रसुवागढी तथा भोटेकोशी नदीको तल्लो तटीय क्षेत्रका रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ र चितवन लगायतका जिल्लाहरूमा बाढी तथा पहिरोका कारण भएको ठूलो मानवीय र भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उक्त सहयोगको घोषणा गरेको हो।

बैठकले विपद्मा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरिएको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ता नागरिकहरूको द्रुत खोजी कार्यको अपेक्षा गरिएको छ।

विपद्को यस संवेदनशील घडीमा खोजी, उद्धार, उपचार, तत्काल राहत तथा दीर्घकालीन पुनर्स्थापनाका लागि नेपाल सरकार, बागमती प्रदेश सरकार, सम्बन्धित स्थानीय तहहरू र पीडित नागरिकहरूसँग पूर्ण ऐक्यबद्धताका साथ सहकार्य गर्ने प्रतिबद्धता मन्त्रीपरिषदले गरेको छ ।

यस्तै प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा राहत पुर्‍याउन कोशी प्रदेश सरकारका तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड उपलब्ध गराइने निर्णय भएको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानून मन्त्री गोम्बु शेर्पाले जानकारी दिए ।

मनसुनी अवधि अझै बाँकी रहेकाले कोशी प्रदेशभित्रका बाढी तथा पहिरोको जोखिममा रहेका पहाडी र तराईका जिल्लाहरूमा पूर्वतयारी तीव्र पारिने निर्णय पनि गरेको छ । यसका लागि प्रदेश विपद् व्यवस्थापन समितिको नेतृत्वमा जिल्ला र स्थानीय विपद् व्यवस्थापन समितिहरूलाई पूर्ण रूपमा सक्रिय र तयारी अवस्थामा राख्ने निर्णय गरिएको छ।