काठमाडौं। नेपाल अहिले अत्यन्त कठिन समयबाट गुज्रिरहेको छ । मुलुकका विभिन्न भूभागमा आएको भीषण बाढी, पहिरो र अन्य प्राकृतिक विपत्तिले ठूलो जनधनको क्षति पुर्याएको छ।
कतै घरहरू भेलसँगै बगेका छन्, कतै परिवारका सदस्यहरू हराइरहेका छन्, त कतै आफ्नै आँखाअगाडि वर्षौँको कठोर मेहनतले बनाएको संसार पानीको ताण्डवसँगै विलिन भएको छ ।
विपत्तिको यो कहालीलाग्दो घडीमा पीडितका लागि हरेक क्षण भारी बनेको छ । यस्तो अवस्थामा हामीले केवल आफूलाई मात्र होइन, आफ्नो समाज र सिंगो देशलाई सम्झनुपर्ने समय आएको छ । संकटका बेला राज्यको प्रयाससँगै नागरिकको सक्रिय साथ र सहयोग पनि उत्तिकै अपरिहार्य हुन्छ ।
हामीमध्ये धेरैजना सायद दुई दिनअघिसम्म आफ्नै संसारमा रमाइरहेका थियौं। सामाजिक सञ्जालमा हाँसो, मनोरञ्जन र उत्सवको माहौल थियो । जीवन आफ्नै नियमित गतिमा चलिरहेको थियो । तर एकाएक आएको बाढीले त्यो रंगमञ्चको पर्दा झारिदियो।
हिजोसम्म रमाइलो लागिरहेको संसार आज कसैका लागि घोर अँध्यारो बनेको छ । कतिपयको घर छैन, कतिपयको परिवार छैन, त कतिपयसँग फर्केर जाने कुनै ठाउँ छैन । हामीलाई लाग्थ्यो जीवन यस्तै चलिरहन्छ, तर प्रकृतिले एकै झट्कामा सम्झाइदियो-हामी कति असहाय छौं।
आज पनि कतिपय आमाबुबा आफ्ना छोराछोरीको बाटो कुरिरहेका छन् । कतिपय छोराछोरी आफ्ना अभिभावक फर्किने आशामा छटपटाइरहेका छन् । कतै आफन्तले मृतकको शवसमेत बुझ्न पाएका छैनन्, त कतै बेपत्ता प्रियजनको खोजी अझै जारी छ।
कसैको हातमा आफ्नो घरको चाबी त छ, तर घर छैन । कसैको आँखामा भविष्यको सुनौलो सपना छ, तर त्यो सपना भग्नावशेषमुनि थिचिएको छ। बाढीले माटो, ढुंगा र घर मात्र बगाएको छैन, यसले मानिसका वर्षौँका सपना, अमूल्य सम्झना र आत्मिय सम्बन्धमाथि पनि निर्मम प्रहार गरेको छ।
तर, यही अँध्यारोबीच मानवताको उज्यालो पनि प्रष्ट देखिएको छ। सुरक्षाकर्मीहरू आफ्नो ज्यानको प्रवाह नगरी उद्धारमा अहोरात्र खटिएका छन् । स्थानीय नागरिकहरू आफ्ना दुःख बिर्सेर अरूको जीवन बचाउन दौडिएका छन्।
चिकित्सक, स्वास्थ्यकर्मी, स्वयंसेवक, सञ्चारकर्मी र विभिन्न संघसंस्थाहरू राहत र उद्धार कार्यमा तल्लीन छन्। छिमेकी देश तथा विदेशी सहयोगीहरूले समेत आवश्यक अनुमति र समन्वयमार्फत उद्धार तथा राहतका लागि हात बढाएका छन्। विपत्तिले सीमा, भाषा र पहिचानभन्दा माथि उठेर साँचो अर्थमा मानिस हुनुको बोध गराइरहेको छ।
यो समय कसैलाई दोष दिनेभन्दा पनि एकताबद्ध भएर हातेमालो गर्ने समय हो । हामी सबैले आ-आफ्नो क्षेत्र र क्षमताबाट सक्ने सहयोग गर्न सक्छौँ । कसैले राहत सामग्री उपलब्ध गराउन सक्छ, कसैले आर्थिक सहयोग गर्न सक्छ, कसैले स्वयंसेवक बनेर समय र श्रम दिन सक्छ, त कसैले सही सूचना सम्प्रेषण गरेर सहयोग पुर्याउन सक्छ।
तर सबैभन्दा ठूलो कुरा पीडितको पीडालाई आफ्नो पीडा सम्झिनु हो। आज उनीहरूको घर बगेको छ, भोलि यस्तो विपत्ति हाम्रो ढोकासम्म पनि आइपुग्न सक्छ। त्यसैले संकटमा परेका नेपालीलाई एक्लो छोड्ने होइन, उनीहरूको साथमा दृढतापूर्वक उभिने जिम्मेवारी हामी सबैको हो।
हामी साँच्चै कस्तो समाज हौँ भन्ने परीक्षा यस्तै कठिन समयमा हुन्छ । सुखमा साथ दिने मानिस धेरै हुन्छन्, तर दुःखमा हात समाउने मानिस नै वास्तविक आफ्नो हुन्छन् । अहिले हजारौँ परिवारलाई हाम्रो एउटा सानो सहयोग पनि ठूलो आशाको किरण बन्न सक्छ ।
एउटा कम्बल, एक बोरा खाद्यान्न, आवश्यक औषधि, केही रुपैयाँ वा केही घण्टाको श्रम-पीडितका लागि त्यो जीवनसँग जोडिएको ठूलो सहारा बन्न सक्छ । त्यसैले आफ्नो क्षमता र परिस्थितिअनुसार उदार भएर सहयोग गरौं। राहतका नाममा फैलने गलत सूचना र अफवाहबाट जोगिँदै विश्वसनीय माध्यमबाट मात्रै सहयोग पुर्याऔँ ।
दुई दिनको रंगमञ्चमा हामी सबै आ-आफ्नो भूमिकामा थियौँ । कसैले हाँस्यौँ, कसैले रमायौँ, त कसैले आफ्नै संसारमा व्यस्त भयौं। तर पर्दा झरेपछि वास्तविक जीवन देखियो-कतै चित्कार, कतै आँसु, कतै व्यग्र प्रतीक्षा र कतै स्तब्ध मौनता।
अब प्रश्न एउटै छ-यो अपार पीडामा हामी दर्शक बनेर मूकदर्शक बस्ने कि कसैको आँसु पुछ्ने हात बन्ने ? देश संकटमा छ । आज पीडितलाई हाम्रो साथ चाहिएको छ। किनकि यो देश केवल सरकारको होइन, हामी सबैको हो । र जब देश रोइरहेको हुन्छ, एक साँचो नेपाली त्यतिबेला आफ्ना आँसु लुकाएर भए पनि अर्को नेपालीको हात समाउन अघि बढ्छ।