मङ्लबार, भदौ ३०, २०८३

रसुवा बाढीपछि सम्पर्कमा आएका सुदूरपश्चिमका ३६ जना को–को हुन्

रसुवामा बाढीपछि सम्पर्कविहिन भएका सुदूरपश्चिमका ३६ जना आफन्तको सम्पर्कमा आएका छन् । बाढीपछि सुरक्षा चुनौती र सञ्चार सम्पर्कविच्छेद हुँदा रसुवाका विभिन्न जलविद्युत् आयोजनामा कार्यरत उनीहरू परिवार तथा आफन्तसँग सम्पर्कविहीन भएका थिए । प्रशासनले आफन्तबाट प्राप्त सूचनाका आधारमा ३६ जना सम्पर्कमा आएका जनाएको छ । सम्पर्कमा आउनेमध्ये कञ्चनपुरका १० जना, कैलालीका २५ जना र डडेल्धुराका एक जना छन् । उनीहरूमध्ये अधिकांश रसुवा हाइड्रोपावर, लाङटाङ हाइड्रोपावर र रसुवागढी हाइड्रोपावरमा कार्यरत रहेको बताइएको छ ।
सम्पर्कमा आउने कञ्चनपुरका शुक्लाफाँटा नगरपालिका–३ का सुनिल चौधरी, भीमदत्त नगरपालिका–६ की चन्दा जोशी, बेलडाँडी गाउँपालिका–३ का अजय राना, सुरेश राना र सन्तोष राना रहेका छन् । त्यस्तै बेलौरी नगरपालिका–३ का नविन चौधरी र आदर्श चौधरी, भीमदत्त नगरपालिका–१७ की भुवनेश्वरी भट्ट तथा कञ्चनपुरका राजेन्द्र भट्ट र प्रदिप चन्द पनि सम्पर्कमा आएका छन् ।राजेन्द्र भट्ट गम्भीर घाइते भई रसुवा अस्पतालमा उपचाररत छन् भने प्रदिप चन्द सामान्य घाइते अवस्थामा सोही अस्पतालमा उपचार भइरहेको जनाइएको छ । स्तै कैलालीबाट रसुवाका विभिन्न हाइड्रोपावरमा काम गर्न गएका २५ जना पनि सम्पर्कमा आएका छन् । सम्पर्कमा आउनेमा रोनिक ओली, प्रदिप बोहरा, गोविन्द तामाङ, बिष्णु साउँद, नरेन्द्र साउँद, रोहन ओली, विक्रम ढकाल, अभिषेक सुनार, रमेश साउँद, गोविन्द ओली, सुनिल बुढामगर, संजय शाही, संगम मगर, सोम बहादुर साहु, मान बहादुर शाही, अनिल चौधरी, सुनिल चौधरी, दिलिप चौधरी, पदम बहादुर धामी, जनक बहादुर धामी, आनन्द धामी, गौमा देवी धामी, डम्बरा धामी, दिलिप कुमार चौधरी र तिलक प्रसाद सापकोटा रहेका छन् । उनीहरूमध्ये अधिकांश गौरीगंगा नगरपालिका–४ र चुरे गाउँपालिकाका स्थायी बासिन्दा रहेको बताइएको छ । उनीहरू लाङटाङ हाइड्रोपावरको सुरुङभित्र काम गरिरहेका थिए । डडेल्धुराबाट रसुवागढी हाइड्रोपावरमा कार्यरत आलीताल गाउँपालिका–३ का सुनिल बुढामगर पनि सम्पर्कमा आएका छन् । प्रशासनका अनुसार सम्पर्कमा आएका अधिकांश व्यक्ति सुरक्षित छन् । केही घाइतेको भने रसुवा अस्पतालमा उपचार भइरहेको छ ।
बाढीका कारण विद्युत् तथा सञ्चार सेवा प्रभावित भएपछि जलविद्युत आयोजनामा कार्यरत धेरै कर्मचारी तथा मजदुर परिवारसँग सम्पर्कविहीन भएका थिए । आफन्तबाट प्राप्त जानकारीका आधारमा प्रशासनले सम्पर्कमा आएका व्यक्तिहरूको विवरण सार्वजनिक गरेको जनाएको छ ।